+
+

महाकाली नगरपालिकाका ४ वडाको एउटै कार्यालय

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १३ गते १७:४७

१३ डोटी, असोज । पुरानो भवनमाथि तला थपिँदैछ । भवनको बीचमा पर्ने गरी छतमा सेतो पृष्ठभूमिमा रातो अक्षरले लेखिएको साईबोर्ड राखिएको छ । साइनबोर्डमा लेखिएको छ ‘महाकाली नगरपालिका वडा नं. ६, ७, ८, ९ र १० को कार्यालय ।’

नेपाल-भारत सीमामा बग्ने महाकाली नदी पारी पर्ने महाकाली नगरपालिका कञ्चनपुर जिल्लामा पर्छ । १० वडा रहेको यस चारवटा मात्रै वडा कार्यालयहरु रहेका छन् । वडानम्बर १, २, ४ र ५ को कार्यालय साविकको चाँदनी गाविसको भवनमा रहेको छ ।

वडानम्बर ७, ८, ९ र १० को कार्यालय साविकको दोधारा गाविसमा रहेको छ । वडानम्बर ३ र ६ को कार्यालय भने छुट्टाछुट्टै छन् । ‘पहिले वडानम्बर ६ को कार्यालय पनि यतै थियो तर अहिले अलग गर्नु भएको छ,’ वडानम्बर ९ का वडाध्यक्ष ऋषिराम थापा भन्छन्, ‘भवन अभावका कारण यसरी एउटै कोठामा बसेका छौं ।’

भवनभित्रको एक कोठामा लहरै वडाध्यक्षका चार कुर्सी र चार टेवल राखिएका छन् । प्रत्येक टेवलमा एक एकथान कम्प्युटर पनि छ । सबै टेवलहरुमा वडाध्यक्षका नाम, पद र वडा नंम्बर लेखिएका ‘नेमप्लेट’ राखिएको छ । ‘चारै अध्यक्षहरु एउटै कोठामा बसेर काम गर्छौं’ वडाध्यक्ष थापाले भने, ‘वडा सचिवहरु पनि एउटै कोठामा बसेर कामगर्नु हुन्छ,’ उनले दरबन्दीअनुसार कर्मचारी नहुँदा दुई वडा हेर्ने गरी एक सचिव रहेको बताए ।

वडाध्यक्षहरु एउटै कोठामा बसेर काम गर्न समस्या हुँदैन ? वडाध्यक्ष थापा भन्छन्, ‘त्यस्तै खासै केही अप्ठेरो परेको छैन तर वडानम्बर १० का सेवाग्राहीलाई आउन अलि टाढा पर्छ ।’

वडामै भवन निर्माणका लागि जग्गा खोजीको कार्य भइरहेको थापाले बताए । उनले भने, ‘भरसक जग्गा निःशुल्क प्राप्त गर्ने कोशिषमा छौं, वडानम्बर ९ र १० ले प्राप्त गरिसकेको छ, अब वडा कार्यालय बन्छ ।’ अन्य वडाले पनि निःशुल्क जग्गा प्राप्तिका लागि जग्गादाताहरुको खोजी गरिरहेको उनले बताए ।

‘कामचलेकै छ, किन अनावश्यक भाडा तिर्नु ?’ वडाध्यक्ष थापा भन्छन्, ‘त्यसैले हामीले भाडामा घर खोजेर कार्यालय राखेनौं ।’ उनले वडाध्यक्षहरु सँगै बस्दा अनुभव आदानप्रदान गर्न पनि सजिलो भएको बताए ।

६३ वर्षीय थापा थप्छन्, ‘म त पुराना जमानाको मान्छे, दुई वर्ष लाएर बल्लतल्ल कम्प्युटरमा सिफारिससम्म लेख्न सक्ने भएको छु,’ थापाले भने, ‘यो नेटसेट भन्ने कुरा आउँदैन,’ उनले वडानम्बर ८ का अध्यक्ष ओमप्रकाश रोकायाले नेट हेरेर मन्त्रालयका परिपत्रहरु अन्य वडाध्यक्षहरुलाई सुनाउने गरेको बताए ।’

संयुक्त कार्यालय राख्नु रहर नभएर बाध्यता भएको बताउँछन् वडानम्बर ५ का वडाध्यक्ष गम्भीर भण्डारी । ‘आवश्यकताअनुसार वडा सचिव छैनन्, एउटै सचिवले दुई/दुई वडा कार्यालय हेर्नु पर्ने अवस्था छ,’ वडाध्यक्ष भण्डारीले भने, ‘वडा कार्यालयका लागि भाडामा घर लिनु पर्नेछ, अनावश्यक खर्च बढी हुने गर्छ ।’

नेटलाइनको पहुँच पनि सबै ठाउँमा नभएका कारण वडा कार्यालय एउटैमा राख्नु परेको उनी बताउँछन् । उनले थपे, ‘पूर्वाधारको अभाव छ, भवन पनि छैन, भाडामा भवन लिने हो भने पनि विद्युत, सञ्चारको सुविधा हुँदैन, त्यसैले गारो छ,’ उनले वडा कार्यालय छुट्याउने प्रयास भइरहेको जानकारी दिए ।

‘गाउँगाउँमा सिंहदरबारको नाराअनुसार त सम्बन्धित वडाभित्रै वडा कार्यालय हुनु पर्ने हो तर हामीले त्यसो गर्न सकेका छैनौं,’ भण्डारीले भने, ‘आर्थिक रुपमात यसले गाउँपालिकालाई फाइदै भएको छ तर सेवाग्राहीहरुलाई अलि असुविधा भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?