+
+

खाडी मुलुकमा दशैंको चहल-पहल शुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १९ गते ७:२०

१९ असोज, काठमाडौं । मानमास्थित बहराइन फाइनान्स कम्पनी (बीएफसी) को कार्यालयमा नेपाली कामदारहरुको घुइँचो छ । घर-परिवारलाई दशैं खर्च पठाउन उनीहरु लाइनमा बसेका छन् । एकसँग अर्कोको परिचय त छैन, तर परिचय नभएजस्तो पनि छैन । नचिनेर के भयो त ? उनीहरु एक-अर्कासँग दाजु-भाइजस्तै गफिन्छन् । आखिर नेपालीको नाता त छँदैछ नि ।

दशैंका बेला यहाँ भीड बढ्छ । यहाँ आएर लाइनमा बस्दा मोरङ घर भएका रंगबहादुर मगरलाई बिजुलीको बिल तिर्न आफ्नै देशभित्र लाइनमा बसेको झल्को आउँछ ।
‘दशैं आउन लाग्दा, त्यो पनि शुक्रबार त यहाँ नेपालीकै मेला लाग्छ,’ उनी हाँस्दै भन्छन्, ‘दशैं आयो भन्ने यहाँ आएपछि थाहा पाइन्छ ।’

यो समयमा विदेशमा रहेका धेरै कामदारले महिनाभरि दुःख गरेर हात लागेको पसिनाको मूल्य दुई भाग लगाउँछन् । ठूलो भाग परिवारलाई खुसीका रुपमा रेमिट गर्छन् । सानो भाग परदेशमै दशैं मान्न आफूसँगै राख्छन् ।

पैसा पठाएपछि उनीहरु घरमा फोन लगाउँछन् र कोड नम्बर टिपाउँछन् । फुर्सदमा भएकाहरु त्यसै फर्किहाल्दैनन् । त्यही केन्द्र वरपर बसेर नेपालीहरुसँग भलाकुसारी गर्छन् ।

बिरानो देशमा छरिएका नेपालीहरुलाई दशैंमा समेत घर परिवारसँगै हुन नपाउँदाको पीडा यहाँ खासै प्रकट हुन पाउँदैन । नेपाली दाजुभाइ दिदी-बाहिनीसँग भेटेर दुःख-सुखका कुरा गर्न पाउँदा नै प्रफुल्लित देखिन्छन् उनीहरु ।

परदेशिएका नेपालीहरुलाई आफ्नो कामको भन्दा बढी चिन्ता र चासो देशको परिस्थिति एवं विकसित नयाँ घटनाक्रमप्रति हुन्छ । परदेशीहरु परदेशमै भेटिए पनि नेताले गरेका ताजा भाषणदेखि युट्युबमा आएको नयाँ गीत र नेपाली फिल्मसम्मका प्रसंगमा आफ्ना मत र विचारहरु राख्छन्, बहस गर्छन् र छुटि्टन्छन् ।

बर्दिया घर बताउने रुद्रबहादुर मगर रोजगारीको सिलसिलामा दुई वर्षदेखि बहराइनमा छन् । वायरहाउस वल्र्ड नामक प्रतिष्ठित कम्पनीमा स्टोर किपर रहेका उनी शुक्रबार घरमा पैसा पठाएपछि फुरुङ्ग बने ।

घर परिवारको दशैं रमाइलो होस् भन्ने उनको चाहना छ । त्यो दायित्व पूरा गर्न सक्दा उनलाई सन्तोष मिलेको छ ।

रुद्रबहादुर पनि घरमा पैसा पठाउन आउँदा बहराइनमा रहेका अरु नेपालीसँग चिनजान गर्छन् । उनी मात्रै हैन, विदेशमा रहेका धेरै नेपालीले दशैंमा आफू घरमा नभए पनि आफू भएकै ठाउँमा हुने जमघटलाई विशेष बनाइहाल्छन् । नेपालीहरु दुःखमा पनि आफूलाई सहज बनाउन सक्ने जाति हुन् ।

विदेशी खसी !

८ वर्षदेखि बहराइनमा छन् भारत, दार्जीलिङका सुमन राई । उनीसँगै छन् झापा घर भएका सन्तोष लिम्बु । उनीहरु दशैंलाई विरक्त मानेर यसै जान दिने पक्षमा छैनन् । त्यसैले त उनीहरु खसी बिक्री केन्द्रमा पुगेका छन् ।

‘कम्पनीका साथीहरुसँग मिलेर खसी ढाल्ने योजना बनिसक्यो । सामूहिक रुपमा दशैं मनाउने जमर्को भएको छ ।’ खाइलाग्दो खसी किन्न त्यहाँ आइपुगेका सन्तोष र सुमन विदेशमा भए पनि दशैं मनाउन कन्जुस्याइँ गर्न नहुने बताउँछन् ।

कम्पनीले उपलब्ध गराएको आवासभित्रै दशैंको माहोल तताउने छन् उनीहरुले । ‘हामी त वर्षैपिच्छे समूहमा पैसा उठाएर सामानहरु किन्छौं । कसले के गर्ने भन्ने काम भाग लगाउँछौं,’ सुमन भन्छन्, ‘घरमा पो छैनौं त, यहाँ यत्रो साथीभाइ भएर पनि खल्लो मान्दै बसेर के गर्नु ! मज्जाले मनाउने हो दशैैं ।’

विदेशमै आपसी जमघट गरेर आत्मीयतापूर्वक चाड मनाउन पाउँदा परिवारसँग नै छु कि जस्तो लाग्ने गरेको सुमनको अनुभव छ ।

जस्तै परिस्थितिमा पनि आफ्नो संस्कृतिलाई माया गर्नुपर्ने बताउँछन् दाङका भेषराज सेन । चितवनका रमेश भाट साथीभाइसँग बसेर दशैं मनाउने बताउँछन् । ‘विदेशमा आएपछि अझ बढी थाहा हुन्छ, हाम्रो संस्कृति र परम्पराको महत्व’ उनी भन्छन्, ‘सकेसम्म त घरमै जसरी मनाउने विचारमा छौं ।’

दशैंको खसी मात्र हैन, अरबमै जमरा पनि राख्छन् कतिपय नेपाली युवाले ।

चितवनका रुपेश घतानी यस्तो दृश्यहरु देख्दा आफू त नेपालमै छु कि जस्तो लाग्ने गरेको बताउँछन् । ‘बुवाआमाका हातबाट टीका लाउन र पिङ हालेर खेल्न बाहेक यहाँ सबै कुरा पाइन्छ,’ उनी ठट्टा गर्दै भन्छन्, ‘बुढीसँगै ससुरालीचाहिँ जान पाइँदैन । तर, जहाँ भए पनि रमाउन त पर्‍यो ।’

दुःख बिर्सिएर दशैं

परिवारसँग टाढिएर रहनुको पीडा बिर्सिएर विदेशी भूमिमा मिलिजुली दशैं मनाउने सुमन, सन्तोष र रुपेशहरु मात्रै छैनन् । उनीहरुजस्ता लाखौं युवाको कथा पनि यस्तै हो ।

दशैंको चहलपहलले नेपाललाई छपक्कै छोप्दा नेपालीहरु बस्ने रहेका अन्य देशमा आफ्नै किसिमको चहलपहल सुरु भइसकेको छ । योबेला घर परिवारलाई याद गर्दै कामको चटारोलाई ब्यवस्थापन गरेर जति सकिन्छ, बढी खुसी बटुल्ने प्रयत्न गर्छन् परदेशी नेपालीहरु ।

विदेशमा टीकाको दिनमा एकै ठाउँमा जम्मा भएर समूहको जेष्ठ सदस्यबाट टिका थाप्छन् । प्रविधिको युग भएकाले आफूले मनाएको दशैंको तस्वीर फेसबुक, भाइबर, इमो लगायतका सामाजिक सञ्जालमार्फत तुरुन्तै परिवार र साथीभाइसँग सेयर पनि गर्छन् । कतिपयले दशैंमा जम्मा भएर नाचगान गर्ने, तास खेल्ने र अनेक तरिकाबाट रमाउने कोसिस गर्छन् । कतिपय घुम्न पनि निस्कन्छन् ।

केही खाडीका राष्ट्रमा निषेध भए पनि बहराइनमा मदिरा किन्न-बेच्न पाइन्छ । त्यसैले दशैं मनाउन मदिरा बिक्री केन्द्रमा लामबद्ध युवाको भीडमा नेपाली युवाको संख्या ठूलै भेन्टिछ ।

सामूहिक कार्यक्रम

विदेशमा रहेका नेपालीले एकताका लागि खोलेका विभिन्न संस्थाले पनि परदेशीको दशैंलाई विशेष बनाउन भूमिका खेल्छन् । यस्ता सामाजिक संस्थाहरुले रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीहरुलाई समेटेर दशंैका कार्यक्रम आयोजना गर्छन् ।

चितवन सेवा समाज बहराइनका अध्यक्ष रेशम सापकोटा स्थापनाकालदेखि नै संस्थाले प्रत्येक वर्ष दशैं विशेष कार्यक्रम आयोजना गरिरहेको बताए । ‘आफ्नो गाउँ-ठाउँ र समाजका सबै मिलेर एकै ठाउँमा दशैं मनाउँदा कसैलाई पनि घरमा नभएकोमा दुःखमनाउ हुँदैन,’ उनले भने, ‘यस्ता कार्यक्रमले सांस्कृतिक पर्वको जगेर्ना मात्रै हुँदैन, विदेशमा पनि नेपालीहरुबीच आत्मीयता र सामुहिक भावनाको विकास हुन्छ ।’

यो समयममा कतिपय संघ-संस्थाले नेपालबाट कलाकार बोलाएर पनि कार्यक्रम गर्छन् । यो पनि नेपाली कामदारका लागि दशैंमा मन भुलाउने अर्को विकल्प बन्छ ।
कतिपय नेपाली समुदायले फुटबल लगायतका खेलकुद कार्यक्रम पनि आयोजना गर्छन् । यसमा पनि धेरै नेपालीहरु खेलाडी र दर्शकका रुपमा मनोरञ्जन गर्छन् ।

(सुजन घिमिरेको सहयोगमा)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?