
१९ असोज, काठमाडौं । खुलामञ्चलाई स्थायी बसपार्क बनाउने योजनाका साथ ढलान गर्न थालेपछि स्थानीयबासीले अवरोध गरेका छन् ।
सांसद भीमसेनदास प्रधान, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीसहित आइतबार विहान खुलामञ्च पुगेका स्थानीयबासीहरुले जस्ताको बार भत्काएका हुन् ।
उनीहरुले भर्खर गरिएको ढलानमा गाडी कुदाएर भड्काएका छन् ।
यो संरचना भ्यू टावरका ठेकदार मनोज भेटवालले बनाएका थिए । यसका लागि महानगरले अनुमति दिएको उनको दाबी छ । तर उपमेयर खड्गीले भने यसबारे आफूलाई कुनै जानकारी नभएको बताएकी छन् ।
वडाध्यक्ष खड्गी भन्छन्, ‘उहाँले महानगरले अनुमति दिएको छ भन्नुभयो तर, त्यो पत्र देखाउनसक्नु भएन ।’
ठेकदार भेटवाल तीनै हुन्, जसले यसअघि खुलामञ्चमै व्यवसायिक सटरहरु हालेका थिए । सांसद, उपमेयरका साथै स्थानीयबासीले विरोध गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले डोजर चलाएको थियो ।
अहिले दशैंको मौका छोपेर खुलामञ्चमा कालोपत्रे गर्न खोजिएको थियो । बाहिरबाट नदेखिने गरी जस्ताले बारेर कालोपत्रे गर्न खोजिएको थियो ।
खुलामञ्च राजनीतिक तथा समाजिक संघसंस्थाले कार्यक्रम गर्ने थलोका रुपमा थियो । तर काठमाडौं महानगरपालिकाले बसपार्कमा भ्यू टावर बनाउने ठेक्का दिँदै खुलामञ्चलाई अस्थायी रुपमा बसपार्क बनाइएको थियो ।
ठेक्का सम्झौताअनुसार काम भएको भए भ्यूटावर बनिसक्थ्यो तर काम भएको छैन ।
प्रतिक्रिया 4