
१४ कात्तिक, काठमाडौैं । कपिलवस्तुमा बिहीबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु हुने व्यक्ति भारतीय नागरिक भएको खुलेको छ ।
प्रहरीको गोली लागेर सीमा क्षेत्र बढनीका सुरजकुमार पाण्डेको मृत्यु भएको हो । उनले नेपाली भूमिमा चिया पसल सञ्चालन गर्दै आएको प्रदेश नं. ५ का प्रहरी प्रमुख डीआईजी सुरजकुमार श्रेष्ठले अनलाइनखबरलाई बताए ।
लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा बुधबार साँझदेखि नै दुई समुदायबीच पक्षबीच विवाद भएको थियो ।
प्रहरीका अनुसार हिन्दु समुदायका व्यक्तिले लक्ष्मीपूजाको मूर्ति विसर्जनका लागि झण्डीनगरको बाटो प्रयोग गरेका थिए । तर, मुस्लिम समुदायले त्यस क्षेत्रमा धेरै मदरसा भएको भन्दै अर्कै बाटो प्रयोग गर्न सुझाएका थिए ।
त्यही विवादले उग्र रुप लिएर झडपको स्थिति आएको प्रहरीको भनाइ छ । विवादलाई साम्य पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो । तर, स्थानीयको आक्रमणबाट ३ जना प्रहरीसमेत घाइते भएपछि गोली चलाएको प्रहरीले दावी गरेको छ ।
त्यसक्रममा पाण्डेको मृत्यु भएको हो । तर, डीआईजी श्रेष्ठले भने कफ्यू लागिसकेपछि गोली चलेको दाबी गरेका छन् ।
उनले अनलाइनखबरसँग भने, ‘कफ्यू ११ बजे लागेको थियो । पौने १२ बजे गोली चल्यो ।’
कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर र पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रमा कर्फ्यु लगाइएको छ ।
छतबाट ढुंगामुढा
कृष्णनगरमा कफ्र्यू आदेश जारी भएपछि अहिले कृष्णनगर शान्त रहेको जनाइएको छ । यद्यपि, घरका छत र झ्यालबाट सुरक्षाकर्मीमाथि ढुंगामुढा हुने क्रम जारी छ ।
कफ्र्यू कति बजेसम्म जारी रहन्छ भन्ने खुलाइएको छैन ।
प्रतिक्रिया 4