+
+

सीमामा पर्खाल : दुवै देशलाई फाइदा

राजु अधिकारी राजु अधिकारी
२०७६ मंसिर २ गते १५:०४

कसैले भारतको ज्यादती रोक्न नेपालले के गर्नुपर्ला भनेर सोध्यो भने आजभोलि बच्चाबच्चीहरुले समेत पर्खाल लगाउनुपर्छ भन्ने अवस्था आइसक्यो । अझ अलिकति नेपाल–भारत सम्बन्ध बुझेको सचेत नेपालीको लागि त यो सोध्नुपर्ने प्रश्न नै होइन, किनभने नेपालले आफ्नो अस्तित्व जोगाउन सिमाना पर्खाल लगाउन अत्यावश्यक भइसक्यो ।

यो विषयमा अहिले जनमत संग्रह गराउने हो भने पर्खाल लगाउने पक्षमा नेपालमा ८०–९० प्रतिशत मत खस्ला । पहाडी मात्र होइन मधेशीहरु पनि सीमा समस्याले गर्दा आजित भइसकेका छन् । भारत नेपालको पहाडतिरका पनि केही स्थानमा सीमा मिचे पनि अधिकांश समस्या दक्षिणी सिमानामा नै छ । मधेसीहरुले त दिनदिनै भारतीय सीमा सुरक्षा बलका सैनिकहरुको ज्यादती–बेइज्जतीविरुद्ध कहिलेकाहीँ भिडन्तमै उत्रनुपरिरहेको छ ।

देवनारायण यादवलगायत मधेसका लाखौं देशभक्त नेपालीहरुले बर्षौंदेखि भारतको ज्यादती थेग्दै नेपाल सरकारको अनुपस्थिति रहेका ठाउँहरुमा देशको सीमा रक्षा गर्दै आएका छन् । त्यसैले सिमानामा पर्खालको खाँचो पहाडीले भन्दा मधेशीहरुले बढी महसुस गरेका छन् । त्यसैले, यो विषयमा जनमत संग्रह गर्ने हो भने पहाडभन्दा मधेसमा धेरै मत खस्ने अनुमान लगाउन सकिन्छ ।

निर्वाध रुपमा भारतीयहरु नेपाल प्रवेश गर्दा जमिन मात्र होइन भाषा–संस्कृतिमा पनि अतिक्रमण भएको कुरो जगजाहेरै छ । मधेसका हाम्रा मौलिक भाषाहरु मैथली, थारु र भोजपुरी भारतको प्रभावले दिनप्रतिदिन हिन्दीकरण हुँदैछन् । यो कुरा नेपालका सबै दल र तिनका नेताहरुलाई थाह नभएको होइन ।

नेपालको अहिलेको सबभन्दा ठूलो समस्या भनेको भारतसँगको आर्थिक निर्भरता र खुला सिमाना हो । तर विडम्बना नै भन्नुपर्छ, नेपालका कुनै पनि उच्च तहको नेताले आधिकारिक रुपमा यो मुद्दा उठान गर्ने हिम्मत गर्दैनन् । सरकारमा पुगेपछि त झन् नेताहरुको मुखमा दही जमिहाल्छ ।

हालसालै भारत सरकारले आफ्नो देशको त्रुटिपूर्ण नयाँ नक्शा सार्वजनिक गरेपछि भएका नेपालका सरकारी बैठकहरुमा अधिकांश सांसदको स्पष्ट सुझाव थियो कि भारतीय सीमा समस्याको समाधान भनेको दुई देशबीचको सिमानामा पर्खाल लगाउनु नै हो । अहिले कालापानी र लिपुलेकको समस्या सतहमा आएको छ तर भोलि सुस्तालगायत अन्य धेरै सीमाका समस्याहरु पनि उठ्ने छन् । त्यसैले अझै पनि भारतसँगको सिमानामा पर्खाल नलगाउने हो भने हाम्रो भूमिमात्र हैन हाम्रो भाषा–संस्कृति सबै अतिक्रमण गरेर भारतले कुनै दिन नेपाललाई पूर्ण उपनिवेश बनाउनेछ । त्यसैले भूमि रक्षा मात्र होइन संस्कृति रक्षाको लागि पनि अबको एक मात्र विकल्प भनेको सीमामा पर्खाल नै हो ।

हामीमध्ये कसैले तर्क गरौंला– त्यसो त लाखौं नेपाली पनि भारत पसेका छन्, तिनले पनि त भारतको संस्कृतिलाई नेपालीकरण गर्दा होलान् नि । तर, नेपाल र भारतको कुरो नदी र सागरको जस्तो हो । भारत विशाल सागर हो भने नेपाल सानो नदी । नदीबाट जति पानी गए पनि सागरलाई असर गर्दैन, तर सागर उल्टो दिशा फर्केर नदीमा पस्यो भने नदीको अस्तित्व नै समाप्त हुन्छ । हाम्रो समस्या ठ्याक्कै त्यही हो ।

भारत र नेपालको निसन्देह गहिरो सम्बन्ध छ । त्यसलाई कसैले नजरअन्दाज गर्न मिल्दैन । सीमा क्षेत्रका हजारौ परिवारको दुवैतिर वैवाहिक–पारिवारिक सम्बन्ध छ । त्यस्तै लाखौँ नेपालीले भारतमा जागिर खाएर परिवार पालेका छन् । पर्खालले दुई देश र जनताबीचको शताब्दीयौं पुरानो सुमधुर सम्बन्धमा आँच पुर्याउन सक्छ भन्ने केही समूहहरु छन् । त्यसो भन्दैमा सीमा पुरै खुला राख्नुपर्छ भन्ने छैन ।

घरको ढोका खुला राखे राम्रा मान्छे भन्दा चोरहरु नै बढी पस्छन् । सीमाको कुरा पनि त्यस्तै हो । हामीले चाहिने नाकाहरु मात्र खोल्नुपर्छ, त्यो पनि निकै व्यवस्थित हिसाबले, नियन्त्रित आवतजावत गर्ने गरी । बाँकी सबै सिमानामा पर्खाल लगाउने हो । हो, नेपाल–भारत सीमामा पर्खाल नै लगाउनुपर्छ, काँडे तारले मात्र काम चल्ने स्थिति छैन ।

पर्खाल लगाउने काम अवश्य पनि निकै खर्चिलो हुनेछ, तर ‘मौकामा हिरा फोर्ने’ भने झैं नेपालीले यो पैसा खर्च गर्न डराउनु हुँदैन । बरु एक दुईवर्ष विकास नै ढिलो होस्, यो काम पूरा गर्नैपर्छ । अब नियन्त्रित आवागमनको लागि दुवैतर्फ पारिवारिक सम्बन्ध भएका नागरिकहरुको लागि विशेष पासको व्यवस्था र एक–एक नागरिकको व्यक्तिगत विवरणसहितको डिजिटल परिचयपत्र अनिवार्य गर्नुपर्छ ।

आजको डिजिटल युगमा त्यो गर्न कठिन पनि छैन, सानो लगानीले पनि सम्भव छ । नेपालमै सञ्चार प्रविधि पढेकाका युवा पुस्ताले कम भन्दा कम खर्चमा त्यसलाई साकार पार्न सक्छन् । केही वर्ष यो प्रणालीले नियन्त्रण गरेपछि विस्तारै अन्य दुई सार्वभौमसत्ता सम्पन्न राष्ट्रहरुको बीचमा जस्तै नेपाल–भारत सीमामा पनि प्रवेशाज्ञाको नियम लागू गर्नुपर्छ । त्यो नगरे नेपालको सार्वभौमिकता नै संकटमा पर्छ भन्ने कुरामा कुनै शंका रहेन ।

चीनसँगको सीमाको अहिल्यै कुनै ठूलो समस्या छैन, तर भविष्यमा हामीले चीनसँग पनि सम्भव भएका सीमा नाकाहरुमा यही कुरा लागु गर्नपर्छ ।

सीमामा पर्खाल लगाउने कुरामा भारतले कुनै बखेडा झिकेर टार्ने प्रयास गर्न सक्छ । उसको जालमा नफसेर आफ्नै खर्चमा भए पनि नेपालले पर्खाल लगाउने काम शुरु गरिहाल्नुपर्छ । त्यसका लागि अहिले उत्तम समय आएको छ । भारतको नक्शाले निम्त्याएको विवादले गर्दा हामीलाई पर्खालको आवश्यकताबारे भारतलाई बुझाउन सजिलो भएको छ ।

भारतलाई पनि पर्खालले फाइदा नै गर्नेछ । आतंकवादी सङ्गठनहरुले नेपालको खुला सिमानाको फाइदा उठाएर भारत पस्ने सम्भावनाको कुरा उसले उठाउँदै आएको छ । त्यो समस्या समाधानको उपाया पनि बन्द सिमाना नै हो ।

त्यसैले नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज सबैले यसलाई गम्भीर रुपमा लिएर तुरुन्तै कदम नचालेमा भविष्यमा नेपाल आमाको अस्तित्वमा नै प्रश्नवाचक चिह्न लाग्ने स्थिति आउनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?