
४ मंसिर, काठमाडौं । अतिक्रमित नेपाली भूमिलाई आफ्नो राजनीतिक नक्सामा देखाएको भारतले नयाँ नक्सा जारी गरेको छ । तर उसले अतिक्रमित भूमि छाड्नुको साटो नेपाल भारत सीमाका रुपमा रहेको काली नदीलाई नै नक्साबाट हटाएको छ ।
सर्वे अफ इन्डियाले जारी गरेको नवौं संस्करणको नक्सामा काली नदी नै गायब पारिएको छ । जबकी आठौं संकरणको नक्सामा काली नदी स्पष्ट रुपमा देखाइएको थियो ।
त्यही नक्साका कारण नेपपालमा आन्दोलन चर्किएको छ । नेपाल सरकारले पनि भारतीय नक्सा अस्वीकार्य मात्र भनेन, अतिक्रमित भूमिबाट सेना फिर्ता लैजान आग्रह गरेको छ ।
त्यसको केही दिनपछि भारतले काली नदी लुकाउनकै लागि नवौं संस्करण निकालेको हो ।
किन लुकायो काली ?
विभिन्न सन्धि सम्झौता र उपलब्ध प्रमाणहरू हेर्दा नेपाल र भारतबीचको सिमाना पार्वतीकुण्ड मुहान भएको त्यही कालीनदी हो ।
१८१६ मा भएको सुगौली सन्धिको धारा ५ अनुसार कालीनदी नै नेपाल र भारतबीचको सिमाना हो । जसअनुसार कालीनदी वारीका नावी, गुन्जी र गब्र्याङ गाउँ नेपालमा पर्छ । त्यस क्षेत्रका जनतालाई नेपालमै कर तिर्नु भनेर गढवाल कार्यालयले पत्र नै लेखेको थियो ।
वि.स. २०१८ सालमा माथि उल्लेखित तीन वटै गाउँमा नेपालले जनगणना गरेको थियो । यसले पनि कालीनदी नै सिमाना हो भन्ने देखाउँछ ।
नेपाल सरकार, परराष्ट मन्त्रालयले पत्रचार गर्दा पनि वास्तविक कालीनदीलाई नै सिमानाको रुपमा उल्लेख गर्दै आएको छ ।
तर कालापानी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको उसले लामो समयसम्म आफ्नो नक्सामा काली नदीलाई देखाएको थिएन ।
भारतले आफ्नो राजनीतिक नक्साको आठौं संस्करणमा आइपुग्दा पहिलो पटक वास्तविक कालीनदीलाई स्विकार समाचार पहिलो पटक २० कात्तिकमा अनलाइनखबरले नै प्रकाशित गरेको थियो ।
३७२ वर्गकिलोमिटरको खेल
सर्वे अफ इन्डियाले सार्वजनिक गरेको आठौं संस्करणको नक्सामा कालीनदी स्विकारे पनि भारतको भूभागभित्र देखाइएको थियो । तर सुगौली सन्धिलगायतका प्रमाणहरूले त्यही नदीलाई मुहान मानेको छ ।
सुगौली सन्धिको दुईसय वर्षमा भारतले लिम्पियाधुरा र कालापानी क्षेत्रमा मात्रै ३७२ वर्गकिलोमिटर भूभाग अतिक्रमण गरेको छ । त्यही अतिक्रिमणलाई निरन्तरता दिन उसले काली गायब परेको जानकारहरू बताउँछन् ।
पहिलेभन्दा खतरनाक नक्सा
इस्ट इन्डिया कम्पनीले सन् १८२७ मा निकालेको नक्सामा स्पष्ट रूपमा लिम्पियाधुराबाट बग्ने नदीलाई नै कालीनदीको रूपमा देखाइएको छ । १८४६ मा कुमाउ एण्ड गडवालद्वारा प्रकाशित नक्सामा पनि त्यही नदीलाई कालीनदी भनिएको छ ।
१८५६ मा ब्रिटिस सर्बे अफ इन्डिया म्यापले सार्वजनिक गरेको नक्साअनुसार पनि कालीनदीको मुहान लिम्पियाधुरा हो । जसलाई सुगौली सन्धिले दुई देशको सिमाना निर्धारण गरेको छ ।
सर्वे अफ इन्डियाको अहिलेको यो नक्सा गत कात्तिक १६ को नक्साभन्दा खतरनाक रहेको विज्ञहरू बताउँछन् । नापी विभागका पूर्व महानिर्देशक पुण्यप्रसाद ओली भन्छन्, ‘हामीले विरोध गरेको दुई हप्ता अघिको नक्साभन्दा पनि अहिलेको नक्सा खतरनाक छ । भारतले जति विरोध गरे पनि हामी पेलेरै जान्छौं भन्ने सन्देश दिन खोजेको छ ।’
प्रतिक्रिया 4