
११ मंसिर, काठमाडौं । नक्कली हस्ताक्षर र कागजातको प्रयोगबाट काठमाडौंका बैंकमा भएको चोरीमा थप १० लाख रुपैयाँ अभियुक्त समूहको हातमा पुगेको देखिएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुले प्रकरणमा संलग्न भएको आरोपमा बुधबार ६ जनालाई सार्वजनिक गर्दै १९ लाख ९ हजार रुपैयाँ चोरी भएको सार्वजनिक गरेको थियो । तर, अनुसन्धान अधिकृतलाई साँझ मुक्तिनाथ विकास बैंकबाट पनि १० लाख रुपैयाँ निकालिएको सूचना प्राप्त भएको हो ।
कसको खाताबाट रकम झिकिएको छ भन्ने विषयलाई केन्द्रमा राखेर अनुसन्धान भइरहे पनि प्रारम्भमा एउटै समूहले रकम निकालेको भेटिएको अनुसन्धान अधिकृत बताउँछन् ।
प्रहरीले आइतबार रातिदेखि चलाएको अपरेशनका क्रममा काभ्रेका सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, बाग्लुङका सुमन पौडेल र सिन्धुपाल्चोकका गोविन्द घिमिरे पक्राउ परेका थिए ।
उनीहरुको साथबाट बरामद चेक बुकबाट भएको कारोबारबारे जानकारी माग्दै प्रहरीले बैंकलाई पत्राचार गरेको थियो । अन्य बैंकले भने पत्रको जवाफ फर्काइसकेका छैनन् ।
आइतबार चोरिएको १९ लाख बढी रकम भने जनता बैंकका खातावाल गोपालमान राजवाहकको भएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई बताए ।
प्रहरीले पक्राउ परेकाको साथबाट १८ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ भने विभिन्न व्यक्तिको नागरिकताको प्रतिनिधि २९० पाना बरामद गरेको छ ।
त्यस्तै, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख गरिएको रजिष्टर २६ वटा, विभिन्न प्रकारका हस्ताक्षरको नमूना र विभिन्न व्यक्तिको नाम उल्लेख गरिएका डायरी दुई वटा पनि बरामद गरेको छ ।
विभन्न व्यक्तिको फोटो ८ सय २५ वटा पनि बरामद भएको डीएसपी बोगटीको भनाइ छ । त्यससम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया 4