
१० पुस, जनकपुरधाम । प्रदेश २ सरकारले अब घर–घरमै पुगेर छोरीहरुको बिमा गरिदिने भएको छ । बिभिन्न कारणले अपेक्षाकृत रुपमा छोरीहरुको बिमा हुन नसकेपछि प्रदेश सरकारले यसका निम्ति शिविर सञ्चालन गरी घर–घरमै पुगेर बिमा सञ्चालन गर्ने जनाएको छ ।
प्रदेश २ सरकारले ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत सुरु गरेको छोरी शिक्षा बिमा कार्यक्रम कर्मचारी अभावका कारण फलदायी बन्न नसकेपछि आगामी माघ महिनादेखि शिविर नै सञ्चालन गर्ने निर्णय गरिएको छ ।
बिहीबार मुख्यमन्त्री कार्यालयमा बसेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको बैठकले माघ २ गतेदेखि आठ वटै जिल्लामा शिविर सञ्चालन गर्ने निर्णय गरेको हो ।
प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गरी उनीहरुको घरदैलोमै पुगेर बिमा लगायतको अन्य सुविधा प्रदान गर्ने गरी छोरी बिमा सप्ताह सञ्चालन गरिने छ । शिविरमा शिक्षा विमाका साथै छोरीहरुको स्वास्थ्य जाँच, निशुल्क औषधि वितरण समेत गरिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
प्रदेश २ सरकारले २०७५ माघ १ गते यता प्रदेशमा जन्मेका छोरीहरुको शिक्षाको लागि बिमा गर्ने घोषणा गरेको थियो । शिविर सञ्चालन गरेर एक वर्ष यता जन्मेका सबै छोरीहरुको बिमा गरिने योजना प्रदेश सरकारले लिएको छ ।
प्रतिक्रिया 4