
११ पुस, हेटौंडा । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्रदेश ३ सरकारले पहिलो फ्लाइटबाट भरतपुर आउने २० पर्यटकलाई सौराहामा निशुल्क बसोबास गराउने घोषणा गरेको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले काठमाडौंबाट पहिलो हवाई यात्रामा चितवन आउने पर्यटकका लागि एक रात सौराहामा खान बस्न, जंगल तथा हात्ती सफारीको निः शुल्क व्यवस्था गरेको मन्त्री अरुण नेपालले बताए ।
मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले पर्यटन वर्षलाई प्रभावकारी बनाउने बताए । काठमाडौं र पोखरापछिको पर्यटकीय गन्तव्यको रुपमा रहेको सौराहाबाट प्रदेश सरकारले पर्यटन बर्षको लागि प्रदेश स्तरीय कार्यक्रम घोषणा गर्दैछ । पर्यटन बर्षमा प्रदेश सरकारले पूर्वाधार निर्माणमा चालु आर्थिक बर्षमा १३ अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
प्रदेश सरकारले पर्यटन बर्ष २०२० को पहिलो दिन पुस १६ गते चितवनको सौराहा, चितवन विमानस्थल, मकवानपुरको इन्द्रसरोवर, रसुवागढी नाका र तातोपानी नाकामा गरी ८ वटा कार्यक्रम तय गरेको छ ।
पहिलो दिन रसुवा र तातोपानी नाकाबाट विदेशी पाहुनाको स्वागत गर्दै मायाको चिनो र साँस्कृतिक झाँकीसहित खानाको व्यवस्था गर्ने प्रदेश सरकारको कार्यक्रम छ ।
त्यस्तै सौराहामा विभिन्न जातीय पहिचान झल्कने सास्कृतीक कार्यक्रम, १६ गतेबाट ४ दिन सौराह हात्ती वाक र हात्ती सुन्दरी प्रतियोगिता, मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पर्यटन स्तम्भ निर्माण, काभ्रेमा स्तम्भ निर्माणको शिलान्याससहितको कार्यक्रम सार्वजानिक गरको छ ।
पर्यटन बर्षको पहिलो दिन इन्द्रसरोवरमा आउने ३ जना पर्यटकलाई एक रात बसोबासको व्यवस्था गर्ने पनि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4