
११ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न ठाउँमा राखिएको होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ । महानगरले शुक्रबारदेखि प्रहरी परिचालन गरेर होर्डिङ हटाउन थालेको हो ।
शुक्रबार माइतीघर, विजुलीबजार, नयाँ बानेश्वर, तीनकुने, सोह्रखुट्टेलगायतको क्षेत्रका होर्डिङ बोर्ड हटाइएका महानगरको प्रहरी शाखाका प्रमुख धनपति सापकोटाले जानकारी दिए ।
होर्डिङ बोर्ड हटाउने कार्यलाई निरन्तरता दिने उनले बताए । काठमाडौंका होर्डिङ बोर्ड हटाउन ०७२ भदौ १६ गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले हटाउन निर्देशन दिएको थियो ।
महानगर क्षेत्रमा रहेका व्यवसायिक होडिङ बोर्ड, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउनुपर्ने सर्वोच्चको आदेशमा उल्लेख थियो । तर लामो समयसमम सर्वोच्चको आदेश कार्यान्वयन नभएपछि महानगरविरुद्ध अवहेलनाको मुद्दा सर्वोच्चमा दायर भएको थियो ।
अवहेलना मुद्दा दायर भएपछि भने महानगरले सक्रियता देखाएको हो । महानगरले २ साताअघि ७ दिने अल्टिमेटम दिँदै बोर्डहरु हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको थियो ।
विजुलीका पोलका हटेनन्
कतिपय क्षेत्रमा महानगरको अनुमति लिएर नै होर्डिङ बोर्ड राखिएका छन् भने विजुलीका पोलमा विज्ञापन बोर्ड झुण्ड्याउन नेपाल विद्युत प्राधिकरणले अनुमति दिएको छ ।
विजुलीका पोलमा प्राधिकरणले केही बर्षअघि टेण्डर आह्वान गरी विज्ञापन बोर्ड राख्न दिएको थियो । तर नयाँ विज्ञापन ऐन पारित भएपछि भने ती सबै गैरकानूनी भएका छन् ।
तर शुक्रबार विजुली तथा टेलिफोनका तार टागिएका पोलहरुमा राखिएको विज्ञापन बोर्ड भने महानगरले हटाएन ।
महानगरका मेयर विद्यासुन्दर शाक्यले अनधिकृत बोर्ड हटाउन तत्कालै शुरु गरिएको भए पनि कतिपय कानूनी प्रक्रिया पूरा गरेर राखेकाहरुलाई छलफलपछि हटाउन भनिने उनले बताए ।
पर्चा–पम्लेट टाँस्ने पक्राउ
महानगरले पोष्टर–पम्प्लेट टाँस्नेहरुलाई शुक्रबारदेखि पक्राउ गर्न थालेको छ छ। शुक्रबारमात्रै १० जनालाई पक्राउ परेका छन् ।
महानगरले पर्चा–पम्प्लेट टाँसेको भन्दै भ्याली इष्टिच्युट चावहिललाई १० हजार र काठमाडौं जब इम्प्लोइमेण्टलाई ५ हजार जरिमाना तिराएको नगर प्रहरी प्रमुख सापकोटाले जानकारी दिए ।
उनका अनुसार सेन्ट जेभियर्स र गोल्डेनगेट मल्टिपर्पोजलाई पनि महानगरपालिकाले पाँच–पाँच हजार जरिमाना तिराएको छ । शुक्रबार पक्राउ परेकाहरुबाट ५८ हजार रुपैयाँ जरिवाना लिइएको उनले जानकारी दिए ।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4