+
+

गोकर्णको लिज अवधि बढाउने निर्णयको प्रधानमन्त्रीले गरे बचाऊ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १२ गते २०:५०

१२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गोकर्ण रिसोर्टको २ हजार ७९३ रोपनी जग्गा थप २५ वर्षलाई यति समूहलाई नै लिजमा दिने निर्णयको बचाउ गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा ओलीले सरकारलाई बद्नाम गराउन देश विदेशबाट अनेक प्रयास भएरहेको बताए । स्रोत साधन भएकाहरुले मिडियामा लगानी गरेर त्यसमार्फत सरकारमाथि हमला गर्न खोजेको भन्दै उनले भने, ‘नभएका कुरा उचाल्छन् र भ्रम फिजाउँछन् । हामी सजग हुन जरुरी छ ।’

गोकर्ण रिसार्टको लिज अवधि थपलाई लिएर उठाइएको प्रश्न पनि यस्तै भएको उनले बताए ।

प्रधाननमन्त्रीले के भने ?

केही दिन अगाडी गोकर्ण रिसोर्टको लिज अवधि थपियो । यसरी थपियो, जसरी पहिले कहिल्यै थपिएको थिएन । पहिले हचुवाको भरमा मुल्य राख्ने, हचुवाका भरमा, अहिले स्वतन्त्र संघसंस्थाबाट मूल्यांकन गराएर यति हुँदोरहेछ लिज भनियो ।

अर्को अवधि बाँकी रहँदै किन दिइयो भन्ने छ । अवधि बाँकी रहँदै कि त्यसलाई नचलाउने भन्नुर्‍यो सरकारले, कि अरु केही गर्नुपर्‍यो । जब कसैले लिजमा लिएको छ, उसले प्रगति गर्छु भन्छ । आकर्षक ढंगले सरकारलाई कर तिर्छु, लिजको रकम राम्रो तिर्छु, कम्पिटिसनमा जान्छु भन्छ भने उसले नपाउने भन्ने होइन । पहिले भएन भने उसले निर्माण गर्न सक्दैन । बैंकबाट लोन लिनपुर्‍यो, निर्माण गर्नुपर्‍यो र सञ्चालन गर्नुपर्‍यो । २० वर्षका लागि लियो, १० वर्ष निर्माण गर्नै लाग्छ । त्यसैले समय हुँदा नै लिज अवधि थप्यो भने अनुचित होइन ।

गोकर्णको यति समूहलाई दिने पुरानो सम्झौता अवधि ५ वर्ष ८ महिना बाँकी रहँदा नै अर्को २५ वर्षका लागि सम्झौता गरेकोमा सरकार विवादमा परेको छ ।

सगरमाथा आरक्षण क्षेत्रको जमिन पनि (यति समूहले) लियो भन्ने अहिले बाहिर आएको भन्दै उनले भने, ‘कसले कसरी लिज दिएको छ, छानविन गरौं । अहिलेको सरकारले त्यस्तो गर्दैन । अहिलेको सरकार कमिसन खोर होइन ।’

चुनाव हासिसकेको, कामचलाउ भएको सरकारले ठूलाठूला कारोबार गरेको भन्दै उनले अघि भने, ‘दरबार अगाडि घर बनाउन कसले दिएको त्यो पनि छानविन गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?