
१२ पुस, पोखरा नेपालको ठूलो सडक महोत्सव ‘पोखरा सडक महोत्सव’ शनिबारबाट सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान)नले गर्दै आएको महोत्सवको यो २१ औं संस्करण हो । ५ दिनसम्म चल्ने महोत्सवको पर्यटनमन्त्री योगेश भट्टराईले उद्घाटन गरेका हुन् ।
जाडो महिना पोखराको पर्यटन सुनसान हुने र त्यसैलाई ब्यूँझाउन सडक महोत्सव सुरु भएको संयोजक लक्ष्मण बरालले जानकारी दिए । उनले भने, अंग्रेजी डिसेम्बर महिनामा क्रिस्चियनको ठूलो पर्व हुने र यहीबेला नै उनीहरुको नयाँ वर्ष हुने हुनाले पोखराको पर्यटनलाई चलायमान गराउन महोत्सवको अवधारणा ल्याएका हौं ।’
बरालले २१ औं संस्करणसम्म आइपुग्दा महोत्सवमात्र नभई एउटा ब्रान्डका रुपमा अघि बढिसकेको दाबी गरे । ‘सुरुमा लेकसाइड सडक महोत्सव भन्यौं । तर, पछि फैलिँदै गएपछि पोखरा सडक महोत्सव नामाकरण गर्यौं,’ उनले भने, ‘यसमा अब प्रदेश सरकार र महानगरपालिकाले अपनत्व ग्रहण गर्नु पर्दछ ।’
पोखरा लेकसाइडको ३ किलोमिटर क्षेत्रफलमा हुने सडक महोत्सवमा विभिन्न जातजातिका करिब ७० बढी झाँकी देखाइएको थियो ।
महोत्सवमा करिब ५ लाख स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ । महोत्सवबाट जनवरी १ का दिन नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया 4