+
+

‘लेकसाइड दिउँसो मात्र होइन, रातभर चलोस्’

विकास रोकामगर विकास रोकामगर
२०७६ पुष १२ गते २०:३०

१२ पुस, पोखरा । पर्यटनमन्त्री योगेश भट्टराईले पोखरा सबै कुराले पूर्ण भएकाले व्यवसायीले हरेक कुरा नमाग्न आग्रह गरेका छन् । ‘पोखरा प्राकृतिक रुपमा मात्रै धनी छैन । यहाँको पाहुना सेवा सत्कार पनि अरुभन्दा उत्कृष्ट छ,’ उनले भने, ‘सधैं यो भएन, त्यो भएन भनेर बस्ने होइन ।’

नेपालको सबैभन्दा ठूलो सडक महोत्सव ‘पोखरा स्टि्रट फेस्टिबल’ शनिबार उद्घाटन गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले पोखराका व्यवसायीलाई अब आफैं केही गर्न सुझाव दिएका हुन् । ‘पोखरेलीले अब मागेर बस्ने होइन, अरुका अगाडि नमुना बन्ने हो । सम्पन्न र आधुनिक बनेर अरुलाई देखाइदिने हो,’ उनले भने, ‘जति पटक पोखरा आउँछु । त्यति पटक गुनासो गर्ने होइन ।’

उनले पोखराबाट देशबाटमात्रै होइन विदेशी राष्ट्रले समेत सिक्ने गरी केही गर्न पोखरेली पर्यटन व्यवसायीलाई सुझाए । ‘एउटा पर्यटकीय नगरीमा मान्छेहरु कसरी सुसंकृत ढंगले बस्छन्, कसरी सरसफाइ गर्छन्, कसरी प्रकृतिलाई जोगाउँछन् भन्ने एउटा अनुपम नमुना पोखराले देखाउनुपर्छ,’ मन्त्री भट्टराईले भने, ‘पोखराका जनप्रतिनिधि अरु ठाउँका भन्दा १/२ स्टेपमाथि उभिएर सोच्नुस् ।’ उनले आवश्यक ठाउँमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लेकसाइड दिउँसोमात्रै होइन, रातभर चलोस्

सन् २०२० डिसेम्बरमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिनेछ । सन् २०२१ को सुरुआतबाटै उडान सुरु गर्ने सरकारको योजना छ । पर्यटनमन्त्री योगेश भट्टराईले विमानस्थल सुरु भइसकेपछि पर्यटकको संख्या बढेपछि पोखरेली पर्यटन व्यवसायीले आफ्नो क्षमता बढाउनुपर्ने बताए ।

व्यवसायीले आफ्नो क्षमता बढाउन रातको समयमा ‘सुतेर’ नहुने भन्दै उनले भने,  ‘लेकसाइड अब दिनमामात्रै खुलेर पर्यटक धान्न सक्दैन । साँझ र रातमा पनि अब पोखरा सुत्नुहुँदैन ।’

‘अन्तर्राष्ट्रिय विमानस्थल तयार भइसकेपछि राति पनि विमान आउजाउ गर्छन् । उनीहरुको माग बढ्छ,’ मन्त्री भट्टराईले भने, ‘बेलुका ५/६ बजेपछि लेकसाइड सुत्ने होइन । रातभर पनि सेवा दिन तयार हुनुपर्छ ।’ उनले पर्यटकको आगमनसँगै उनीहरुको आवश्यकता पनि बढ्ने हुनाले त्यही अनुसार व्यवस्था गर्न स्थानीय सरोकारवाला निकाय र पर्यटन व्यसायीलाई आग्रह गरे ।

पर्यटक बढेसँगै नयाँ नयाँ गन्तव्यको पनि आवश्यक पर्ने भएकाले खोजी गर्न मन्त्री भट्टराईले आग्रह गरे ।  ‘हिजोका मात्रै पर्यटकीय गन्तव्यले पोखरामा पोखरामा ४/५ दिन पर्यटक अल्मिलिने अवस्था नहुन सक्छ,’ उनले भने, ‘यस क्षेत्रका हरेक पर्यटकीय गन्तव्यलाई विकास गर्न सरकार सहयोग गर्न तयार छ । प्रदेश सरकार, स्थानीय सरकारले नयाँ नयाँ गन्तव्य खोजी गर्नुपर्दछ ।’

तस्वीर : युनिश गुरुङ/अनलाइनखबर

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?