
१३ पुस, धनगढी । अत्यधिक चिसो बढेपछि कैलालीको घोडाघोडी नगरपालिकाले तीन दिन विद्यालय बिदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको शिक्षासम्बद्ध पदाधिकारी र प्रधानाध्यापकको बैठकले नगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।
नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले विज्ञप्ति जारी गरी पुस १४, १५ र १६ गते बिदा दिने निर्णय गरिएको जानकारी दिए ।
मौसममा सुधार आए विद्यालय सञ्चालन गर्ने र प्रतिकुल भएमा बिदा थप गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले विद्यालयको सञ्चित बिदाबाट घटाउने तीन दिन बिदा दिने निर्णय गरेको हो ।
यसअघि कैलालीमा धनगढी उपमहानगरपालिकाले अत्यधिक चिसो भएपछि ३ र ४ गते बिदा दिएको थियो । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पनि ती दुई दिन विद्यालय बिदा दिएको थियो ।
केही दिनयता अत्यधिक चिसो बढेपछि पश्चिम तराइको जनजीवन प्रभावित भएको छ ।
प्रतिक्रिया 4