
१४ पुस, बुटवल । बुटवलमा दोस्रो सडक खाना महोत्सवको आयोजना गरिएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर सोमवारदेखि तीन दिने सडक खाना महोत्सव सुरु गरिएको हो ।
विभिन्न जातजातिको सांस्कृतिक पहिचान झल्किने झाँकीसहितको र्यालीले बजार परिक्रमा गरेपछि मुख्यमन्त्री शंकर पोखरेलले महोत्सवको उद्घाटन गरे ।
‘अतिथि देवो भव, पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवर्द्धन र विकास हाम्रो अभियान, सडकमै खाऔं सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नारासहित सुरु भएको महोत्सव यही पुस १६ गतेसम्म सञ्चालन छ । महोत्सवमा १२५ वटा स्टल राखिएको छ ।
नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले संचालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ सडक खाना महोत्सव गरिएको संघका अध्यक्ष समुन्द्र जिसीले अनलाइनखबरलाई बताए ।
वडानम्बर ९ कालिकापथको तिनकुनेदेखि शिवालयचोकसम्मको सडकको दायाँबायाँ सडक खाना महोत्सवका खानाका परिकारले सजिएको छ ।
सडक खाना महोत्सवमा जातिगत रुपमा थारु, मगर, थकाली, गुरुङ, क्षेत्री, नेवार समुदायका खानाका परिकाहरु सडकमै पकाएर खुवाइने भएकाले यसक्षेत्रको रौनक नै पृथक बनेको छ ।
सडक खाना महोत्सवमा नेपाली जातिगत खानबाहेक इण्डियन चाइनिज, जापानिज, इटालियन र थाई खाना तथा अन्य खानाका ६० बढी परिकार राखिएको छ ।
महोत्सव राति साँझ ६ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने आयोजकको भनाइ छ । महोत्सव अवधिमा ५ करोडको कारोबार हुने र २ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको प्रचारप्रसार समितिका संयोजक बाबुराम गौतमले बताए ।
प्रतिक्रिया 4