
१४ पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत गराउने भएको छ । सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण प्राधिकरणको विशेष प्राथमिकतामा परेकाले रानीपोखरीको मोडेलअनुसार उपभोक्ता समितिमार्फत पुनर्निर्माण गरिने निर्णय भएको जानकारी दिए ।
सांसद पम्फा भुसालले उपभोक्तामार्फत पुनर्निर्माण गरिने हुँदा रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण पूरा हुने आशा बढेको बताइन् । भुषालले गुरुयोजनालाई स्वीकार गरी त्यसै अनुसार पुनर्निर्माणको कार्य अघि बढाउन उपर्युक्त हुने धारणा राखिन् । उनले त्यसका लागि निर्वाचन क्षेत्र पूर्वाधार कोषबाट अधिकतम बजेट राख्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले समयतालिका बनाएर रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण गरिनु पर्नेमा जोड दिँदै आवश्यक सहयोग गर्न महानगर तयार रहेको बताएका थिए ।
रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणको अनुगमनका लागि प्राधिकरणको नेतृत्वमा समिति पनि गठन गरिने भएको छ ।
त्यसैगरी, बैठकमा बुंगमतीको सार्वजनिक पूर्वाधार एवं सम्पदाहरुको पुनर्निर्माण गर्नका लागि तयार गरिएको अन्य गुरुयोजनाबारेमा समेत छलफल भएको छ ।
यसअघि श्रीलंका सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायीमार्फत रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माण अघि बढाइएको थियो । पूर्वयोजना अनुसार मन्दिर पुनर्निर्माण अघि नबढेपछि ठेक्का तोडिएको हो ।
प्रतिक्रिया 4