+
+

अनमिन र एयरलाइन्सले तिरेनन् ८३ करोड बक्यौता, प्राधिकरणले फेरि गर्‍यो ताकेता

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १५ गते ९:२९

१५ पुस, काठमाडौं । सेवा शुल्कबापत तिर्नुपर्ने रकम चुक्ता गर्न ६ दर्जन बढी वायु सेवा, फर्म र कम्पनीहरूले आनाकानी गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पुनः ताकेता गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगवापत ७४ वायु सेवा, र्फम र कम्पनीले ८३ करोड ७७ लाख ८ हजार ४८ रुपैयाँ तिर्न अटेरी गरेपछि प्राधिकरणले ३० दिने सूचना जारी गरी बक्यौता चुक्ता गर्न भनेको छ ।

रकम भुक्तानीका लागि उड्डयन कार्यालयले यसअघि गत असोज ७ गते सार्वजनिक सूचना जारी गरेको थियो । सूचना जारीपछि केहीले बक्यौता रकम भुक्तानी गरे पनि ७४ वटाले दायित्व पूरा नगरेपछि कार्यालयले ३० दिनको म्याद दिएर रकम उठाउन अग्रसरता लिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार, तोकिएको समयभित्र रकम नतिरेमा नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल सेवा शुल्क नियमावली २०६७ (संशोधनसहित) तथा अन्य प्रचलित कानूनअनुसार असुल प्रक्रिया अघि बढाउने गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

प्राधिकरणले वायुसेवा कम्पनीहरुबाट जहाज अवतरण, पार्किङ, एयर नेभिगेसन (सञ्चार तथा उड्डयन सहायता सेवा), विमानस्थल विकास शुल्क, घरभाडा लगायतका शीर्षकमा रकम असुलउपर गर्दै आएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हरेक अन्तर्राष्ट्रिय यात्रुबाट १ हजार रुपैयाँ विमानस्थल विकास शुल्क उठाउँछ । यस्तो शुल्क यात्रुले टिकट किन्नासाथ वायुसेवा कम्पनीको खातामा जान्छ । प्रतिटिकट एक हजार रुपैयाँ वायुसेवा कम्पनीले हरेक महिनाको अन्तिममा प्राधिकरणमा बुझाउनुपर्ने प्रावधान छ । तर, अन्तर्राष्ट्रिय उडानका वायुसेवा कम्पनीले यात्रुबाट पैसा उठाएर सरकारलाई भने नतिरी बस्ने गरेका छन् । बक्यौता चुक्ता नगर्नेहरुमा एयर एसिया, जेट एयरलगायत छन् जसले टाट पल्टिएको भन्दै नेपालमा सेवा नै बन्द गरिसकेका छन् ।

बक्यौता नतिर्नेमा अनमिन पनि

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा शुल्कबापतको रकम नबुझाउने नेपालमा उडान बन्द गरिसकेका कम्पनीदेखि नेपालको शान्ति प्रक्रिया अनुगमनका लागि राष्ट्र संघले पठाएको अनमिनसम्म छन् ।

अनमिनले त्रिभुवन विमानस्थल प्रयोग गरेबापत सरकारलाई १४ लाख २८ हजार ६ सय ५५ रुपैयाँ ३८ पैसा तिर्न बाँकी छ । नेपालबाट बिदा भएको वर्षौं भइसके पनि उसले अहिलेसम्म आफ्नो आर्थिक दायित्व भने पूरा गरेको छैन ।

एयर एसियाले १८ करोड ८९ लाख २१ हजार ४ सय ७५ रुपैयाँ भुक्तानी गर्नुपर्ने भए पनि अहिलेसम्म तिरेको छैन । त्यस्तै, नेकोन एयर इन्टरनेशनलले ४ करोड ६३ लाख ८५ हजार ५३ रुपैयाँ, त्यस्तै, गल्फ एयरले २ करोड २२ लाख १३ हजार ५४ रुपैयाँ, हङकङ एक्सप्रेसले १९ लाख ६२ हजार ९ सय ७८ र कस्मिक एयरले ३ करोड ३३ लाख १२ हजार ९०६ भुक्तानी गर्न मानेका छैनन् ।

हेर्नुहोस् बक्यौता रकम नबुझाउनेहरूको सूची

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?