
१५ पुस, काठमाडौं । मोडललाई ‘बलि चढाउने’ प्रयास गरेको आरोपमा समातिएको गिरोहले थप दुई जनालाई पनि निशाना बनाएको हुनसक्ने देखिएको छ । अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिसँग तेस्रो पक्षले ‘३ फिट उचाइभन्दा कम उमेरका दुई जनाको काम भइसकेको’ बताएको तथ्य प्रहरीले फेला पारेको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको ‘कोभर्ट अप्रेसन’मा पीडित युवतीको सकुशल उद्दारसँगै ७ जना पक्राउ परेका थिए । उद्दार गरिएकी युवतीले पनि समूहले अन्यलाई पनि लगेको हुनसक्ने आशंका व्यक्त गरेकी छन् ।
गिरोहका सदस्यले उनको उचाइको नाप लिएर पठाएका थिए । तर, भिडियो खिच्ने तरिका नमिलेको भन्दै अर्की युवतीको भिडियो नमूना पठाइएको थियो । ‘त्यो भिडियो कसरी खिचियो ? उहाँ को हुनुहुन्थ्यो’, पीडित युवतीले अनलाइनखबरसँग भनिन्, ‘यस विषयमा पनि अनुसन्धान हुनु जरुरी छ ।’ उनले प्रहरीलाई भिडियो दिइसकेको पनि बताइन् ।
काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटी पनि प्राप्त सबूतको आधारमा थप तथ्यको खोजी भइरहेको बताउँछन् । ‘भिडियो देखिएकी महिला कुन ठाउँको हो भनेर हामीले खोजी गरिरहेका छौं’, उनले भने, ‘अहिलेसम्म पत्ता लागेको छैन ।’
बोगटीका अनुसार गिरोहका सदस्यले पीडितलाई भारत, बिहारका एक जना बाबा भनिने व्यक्तिसम्म पुर्याउन खोजेका थिए । तर, पीडितको चलाखीले प्रहरीले गिरोहका सदस्यलाई पक्राउ गर्न सफल भएको जनाइएको छ ।
अनुसन्धानका क्रममा बलि चढाएको सफल भए, धनको भण्डार प्राप्त हुने बाबाले बताएको खुलेको छ । यदि प्राप्त नभए ८ लाख भारतीय रुपैयाँ दिने आश्वासन दिइएको भेटिएको छ । ‘धन प्राप्त भए सबैले बाँडीचुँडी गर्ने भनिएको रहेछ’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन् ।
३० हजार दिन्छु भनेपछि शंका : पीडित
पीडित युवतीले भने आफूलाई र्याम्प शो वापत ३० हजार रुपैयाँ दिन्छु भनेपछि शंका लागेको बताएकी छन् । उनले भनिन्, ‘यस्तो कार्यक्रम मैले धेरै गरिसकेको छु । तर, धेरै राम्रो मोडललाई पनि १५ हजारसम्म दिने हो । तर, दोब्बर दिने भनेको सुन्दा पहिल्यै कस्तोकस्तो लागिसकेको थियो ।’
उनलाई प्रारम्भमा नेपाल, भारत र कोरियाका मोडल सहभागी हुने र्याम्प शो काठमाडौंमै हुने भनिएको थियो । जसमा १० जना सहभागी हुने उल्लेख गरिएको थियो । ‘तर, पछि मलाई महिनावारी भए/नभएको, माछामासु खाए/नखाएको जस्तो कुरा सोध्न थालेपछि झन् शंका भयो’, उनले सुनाइन्, ‘त्यसैले प्रहरीलाई हरेक कुरा अपडेट गराइरहेकी थिएँ ।’
काठमाडौंमा हुने भनिएको कार्यक्रमका लागि बिराटनगर पुर्याउँदासम्म प्रहरीकै भरमा आफू गएको उनले बताइन् । तर, जब कपडा किन्न भन्दै जोगबनी नजिक पुर्याइयो, त्यसपछि झस्किएको उनको भनाइ छ । ‘त्यसो त मलाई काठमाडौंबाटै हिँड्दा पनि खुट्टामा कालो धाँगो बाध्नुपर्छ भनेका थिए’, उनले थपिन्, ‘बिराटनगरमा जन्तर, तान्त्रिक पूजाका सामग्री, कालो कपडाहरु देख्दा झन् शंका बढ्यो ।’
त्यहीँ बसेका बेला प्रहरी टोली प्रवेश गरेर ७ जनालाई पक्राउ गरेको उनी बताउँछिन् । ‘त्यसपछि बल्ल मलाई बलि चढाउन लान खोजिएको रहेछ भन्ने थाहा भयो’, उनले भनिन् ।
घटनाका मुख्य योजनाकार बाबा भनिने भारतीय व्यक्ति भने पक्राउ परेका छैनन् । उनीद्वारा परिचालित मोरङका दिलिप पोद्दार भने पक्राउ परेका छन् । उनीमार्फत भारतीय नेक्सस पनि केलाउने प्रयास भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले बताए ।
प्रतिक्रिया 4