+
+

भारतका कोठीमात्र होइन निजी अपार्टमेन्टमा पनि बेचिन्छन् नेपाली किशोरी

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १५ गते १३:१८

१५ पुस, काठमाडौं । मानव तस्करहरुले यौन शोषणका लागि नेपाली किशोरीलाई दिल्लीका निजी अपार्टमेन्टमा बिक्री गर्न थालेको पाइएको छ ।

पहिले दिल्लीको कोठीमा बेचविखन हुने गरेकामा अहिले दिल्लीका निजी अपार्टमेन्टहरुमा पनि बिक्री गरेको पाइएको माइती नेपालले जनाएको छ ।

मंगलबार विज्ञप्ति जारी गरी माइती नेपालले मानव बेचबिखन र ओसारपसारले नयाँ रुप लिन थालेको बताएको हो ।

‘…भारतका विभिन्न कोठीहरुमा यौन शोषणका लागि नेपाली किशोरीहरुको बेचविखन हुने गरेकामा हाल आएर निजी घर तथा अपार्टमेन्टहरु समेतलाई भाडामा लिई यौन व्यवसाय सञ्चालन गर्ने नौलो तरिका दलालहरुले अपनाउन थालेका छन्’ माइती नेपालको विज्ञप्तिमा भनिएको छ ।

मानव तस्करहरुले अपनाउने नयाँ नयाँ तरिकाका कारण हराएका महिला तथा बालबालिकाको अवस्था पहिचान तथा खोजतलास र उद्धारका लागि झनै जटिल अवस्था सिर्जना भएको माइती नेपालले बताएका छन् ।

‘आधुनिकताको नाममा विलासिताप्रतिको बढ्दो आकर्षण, सामाजिक सञ्जाल फेसबुक, इमो, ह्वाट्सएप, भाइबर, मेसेन्जरलगायतको दुरुपयोग गरी मानव दलालहरुले आफ्नो सम्पर्क संयन्त्रलाई दिनानुदिन सहज बनाएका छन्’ विज्ञप्तिमा भनिएको छ ।

उद्धार गर्न कठिन

विगतमा माइती नेपालको टोली भारतमा बेचिएका नेपाली किशोरीको उद्धार गर्न भारतको कोठीमा छापा पार्न पुग्थे । प्रहरी र उद्धारकर्मीले भारतका विभिन्न गल्लीमा रहेको कोठी सजिलै पत्ता लगाउथे ।

तर पछिल्लो समय कोठीमा छापा मार्दा त्यहाँ नेपाली भेटिन छाडेका थिए । तर माइती नेपालको अध्ययनमा चेलिबेटी बेचविखन नघटेको पाइएपछि खोजी गर्दा अपार्टमेन्टमा बिक्री गर्ने गरेको तथ्य खुलेको थियो ।

कोठीमा सबै गतिविधि देखिने तर अपार्टमेन्टमा प्रहरी तथा उद्धारकर्मी सघंसस्थाहरुले शंका नगर्ने भएकाले निजी अपार्टमेन्टलाई कोठीको रुपमा प्रयोग गर्न थालेको पाइएको माइती नेपाल अध्यक्ष विश्राम खड्काले बताए ।

उनले भने ‘पहिले पहिले कोठीमा यौन व्यवसाय चलाउने कोठीका मालिकहरुले अपार्टमेन्ट रोज्न थालेका छन् । प्रहरी र उद्धारकर्मीहरुले कोठीमा मात्रै छापा हान्न थालेपछि नयाँ तरिका उपनाउन थालेकाले उद्धार गर्न चुनौती थपिएको छ ।’

उनले अगाडि भने ‘यता महिला बालबालिका हराएको उजुरी बढछ । उता कोठीमा जसरी सजिलै छापा मार्न पनि सकिदैन र उद्धार पनि गर्न सकिरहेका छैनौ ।’

भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा पठाउने भन्दै नेपाली किशोरी तथा युवती बेचिएका खड्काको भनाइ छ ।

माइती नेपालले सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म नेपाल भारत सीमानाबाट २२४ सय ८५ जनाको उद्धार गरेको जनाएको छ ।

बेचबिखनमा परी श्रम तथा यौन शोषणमा परेका ३ सय २२ जनालाई भारतबाट, खाडीबाट १६ जना, आन्तरिक बेचविखनमा परेका ४४ जनाको उद्धार गरिएको अध्यक्ष खड्काले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?