+
+

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा.धनन्जय रेग्मी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते १८:३२

१४ माघ,काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा.धनन्जय रेग्मी नियुक्त भएका छन् । पर्यटन मन्त्रालयका सचिव केदारवहादुर अधिकारी संयोजकत्वको छनौट समितिले छानेका तीन उम्मेदवारमध्ये एक नम्बरमा रहेका रेग्मी मंगलबार कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

बोर्डको मंगलबार बसेको बैठकले छनौट समितिको सिफारिस बमोजिम सबैभन्दा धेरै अंक ल्याएका रेग्मीलाई सर्वसम्मत रुपमा नियुक्त गरेको हो । एक साताअघि नै छनौट समितिले सिफारिस गरे पनि केही दिन नियुक्ति रोकिएको थियो ।

स्याङ्जाका स्थायी बासिन्दा रेग्मी जलवायु परिवर्तन तथा हिमतालहरुको अध्येता हुन् भने उनी पर्यटन क्षेत्रका पनि विज्ञ हुन् । छनौट समितिले सिइओका लागि प्रतिस्पर्धा गरेका ९ जनामध्ये लिखित र मौखिक परीक्षापछि उनीसहित हिक्मत ऐर र दिपक बस्ताकोटीलाई छनौट गरेको थियो ।

रेग्मीले नेपालको समग्र पर्यटन उद्योगको विकासका लागि योजना बनाएर काम गर्ने भन्दै तत्कालको प्राथमिकता भ्रमण वर्ष २०२० लाई सफल बनाउनु रहेको प्रतिक्रिया दिए । उनले आफू पर्यटन बोर्डमा काम गरेर देखाउन आएको र अरु कुनै लोभलालच नरहेको समेत प्रष्ट पारे ।

को हुन् रेग्मी ?

चार वर्षका लागि बोर्डको कार्यकारी अधिकृतमा नियुक्त भएका रेग्मी पर्यटन तथा वातावरण अभियन्ता हुन् । उनले अर्थ साइन्समा जापानबाट विद्यावारिधि गरेका छन् भने अमेरिकी विश्वविद्यालयमा पनि अध्ययन गरेका छन् । उनले भूगोल विषयको शिक्षकका रुपमा बुढानिलकण्ठ स्कूलमा अध्यापन गराएका थिए ।

रेग्मीले हिमालयन क्लाइमेट सेन्टरमा समेत काम गरेका छन् । पछिल्लो समय वातावरण तथा जलवायु परिवर्तनको क्षेत्रमा काम गरिरहेका रेग्मी आफ्नै ब्यापार व्यवसायमा संलग्न थिए । जियोग्राफी (भूगोल)का विज्ञ उनले त्रिभुवन विश्वविद्यालयमा पनि प्राध्यापन गरेका छन् । रेग्मी अटोमोबाइल, पर्यटन तथा होटल क्षेत्रका प्रतिष्ठित व्यवसायी हुन् ।

उनको काठमाडौंमा चारतारे होटल निर्माण अन्तिम चरणमा पुगेको छ भने जलविद्युत आयोजनाहरु पनि सञ्चालन गर्छन् । रेग्मी हिमालय नर्थ फेस लुम्काका अध्यक्ष समेत हुन् ।

पर्यटन उद्योगको विकास र भ्रमण वर्षको सफलताका लागि उपयुक्त व्यक्तिको चयन भएको पर्यटन व्यवसायी राजेन्द्र प्रसाद सापकोटाले बताए । उनले रेग्मी पर्यटनको मात्र नभएर जलवायु परिवर्तनको समेत विज्ञ भएकाले उनको पालामा पर्यटन बोर्डले प्राविधिकमात्र नभएर दीर्घकालिन महत्वका काम गर्न सक्ने बताए ।

पर्यटन बोर्डको कार्यकारी प्रमुख नियुक्तिमा यसपटक राजनीतिक हस्तक्षेप भएन । रेग्मी विद्यार्थी कालमा अनेरास्ववियुसँग नजिक भएपनि पार्टी राजनीतिमा कहिल्यै लागेका व्यक्ति होइनन् । उनी नेकपाका समर्थक मानिन्छन् ।

सन् २००७ देखि सोसाइटी फर इकोलोजिकल रेस्टोरेशन नेपालको अध्यक्षका रुपमा मौसम परिवर्तन र इकोलोजी रेस्टोरेशनका लागि काम गरिरहेका रेग्मी हिमालय रिसर्ज सेन्टरका अध्यक्ष हुन् ।

उनले इम्जा हिमतालको जोखिम व्यवस्थापन गर्न नेपाली सेनाको प्राविधिक सल्लाहकारको रुपमा काम गरेका थिए । इम्जा हिमताल फुट्ने जाखिम बढेपछि सरकारले हिमतालको गहिराइ घटनाउन परियोजना सञ्चालन गरेको थियो । त्यसबेला रेग्मीले सो परियोजना सफल बनाएका थिए । डा.रेग्मी हिमतालबाट जलविद्युत उत्पादन गरेर तालको पानी घटाउने प्रविधिहरुमा समेत अध्ययन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?