
१६ माघ, वीरगञ्ज । जनता आवास कार्यक्रम अन्तर्गत पर्सा जिल्लामा थप २ सय घर निर्माण गरिने भएको छ । विगतमा काम सुरु गरेर पुरा नभएका घर बाहेक थप २ सय घर निर्माण गर्न लागिएको हो ।
जनता आवास कार्यक्रमका पर्सा संयोजक एवं प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले पर्सामा २ सय वटा नयाँ घर बनाइने जानकारी दिए । प्रदेश २ सरकारले दलित समुदायमा पनि पिछडिएको डोम, मुसहर, चमार धाँगड, मेस्तरलाई प्राथमिकतामा राखेर जनता आवास कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ । प्रदेश सरकारले छुट्टै जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६ जारी गरेको छ ।
ती समुदायमा पनि आवास बिहीन जनतालाई प्राथमिकतामा राखेर आवास निर्माणका लागि लाभग्राही छनौट गरिने कुर्मीको भनाइ छ ।
आवास निर्माणका लागि घरको डिजाइनसहित प्रदेश सरकारले ३ लाख ३२ हजार ५ सय रुपैयाँ उपलब्ध गराउनेछ भने लाभग्राहीले श्रमदान, नगद वा निर्माण सामाग्री उपलब्ध गराएर १० प्रतिशत लागत सहभागीता जनाउनुपर्ने व्यवस्था छ ।
सरकारी घोषणा अनुसार जनता आवास कार्यक्रम अन्तर्गत पर्सामा यसअघि १ हजार घर निर्माण भइसक्नु पर्ने हो ।
तर शहरी विकास तथा भवन कार्यालय, वीरगञ्जका अनुसार तत्कालीन निर्वाचन क्षेत्र नं १ मा १ सय ११, २ मा ९८, ३ मा १ सय २७, ४ मा १ सय १८ र ५ मा ७७ वटा गरी ५ सय ३१ वटा घरधनीले मात्रै निर्माण सम्पन्न गरी अन्तिम किस्ता लगेका छन् । कतिपयले दोस्रो र तेस्रो किस्ता लगेर काम अलपत्र छोडेका छन् ।
जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधिमा लाभग्राहीबाटै समिति बनाएर वा व्यक्ति स्वयंले आवास निर्माण गर्नुपर्ने उल्लेख छ । समितिमा देखिएको किचलोले गर्दा पनि कतिपयको आवास बन्न सकेको छैन ।
जनता आवासमा विगतमा देखिएका त्रुटि दोहोरिन नदिने दाबी संयोजक कुर्मीको छ । ‘विगतमा कतिपयले पहिलो किस्ता लगेर पनि काम भने गरेका छैनन् । पहिलो किस्ताको काम नभए दोस्रो किस्ता जाँदैन । दोस्रो किस्ता लगेर काम नगर्ने पनि छन् । अनुगमनको पाटो कमजोर हुँदा धेरै त्रुटि देखिएको छ,’ उनले भने, ‘अब त्यसलाई दोहोरिन दिँदैनौं । अनुगमनको पाटोलाई प्रभावकारी बनाउँछौं ।’
उनले विगतका अधुरा योजनामा देखिएका समस्यालाई समेत समाधान गर्दै लैजाने बताए ।
प्रतिक्रिया 4