+
+

फेवातालमा देखिएन राष्ट्रिय झन्डाको छाया

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १७ गते १८:४७

१७ माघ, पोखरा । पोखरा क्षेत्रीय सिँचाइ कार्यालय परिसरबाट फेवातालमा माछापुच्छ्रे प्रतिबिम्ब प्रष्ट देख्न सकिन्छ । तर, प्रचार अभाव र असहजताका कारण धेरै पर्यटक त्यस ठाउँको भेउ पनि पाउँदैनन् र फेवातालमा हिमालको छाया देख्दै नदेखी पोखरा छाड्छन् ।

गण्डकी प्रदेशले गत वर्षको साउनमा पोखरा महानगरसँग समन्वय गरी त्यस परिसरमा नेपालको झन्डासहितको पार्क बनाउने र पर्यटकलाई फेवातालमा माछापुच्छ्रे हिमालसँगै राष्ट्रिय झन्डा देखाउने घोषणा गरेको थियो ।

प्रदेशले सो योजना तयार पारेको करिब ९ महिनापछि मात्रै योजना शिलान्यास भयो । पार्कको शिलान्यास गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगर प्रमुख मानबहादुर जिसीले गरेका थिए । पार्क बनाउन करिब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरेको थियो । योजनाअनुरुप १७ रोपनी क्षेत्रफलमा बन्ने पार्कमा ८० फिट अग्लो नेपालको झन्डा राख्ने बताइएको थियो ।

बहुवर्षे योजनाअनुरुप प्रदेश र महानगरले सो पार्क थालनी गरेका हुन् । जसमा पहिलो चरणमा गएको आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन गरिएको थियो । नेपाली नेपाली झन्डासहितको पार्कको पहिलो चरणको काम सक्न विनु कन्स्ट्रक्सनले ७६ लाख रुपैयाँमा जिम्मा लिएको छ ।

पार्कको शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले भनेका थिए, ‘पर्यटकीय गन्तव्य विस्तार गर्न नै पार्क निर्माणको परिकल्पना गरेका हौं । यो पार्क एउटा महत्वपूर्ण गन्तव्य हो । तोकिएकै समयमा नै निर्माण पूरा होस् ।’ तर, उनले परिकल्पना पूरा भएको छैन । पहिलो चरणको काम असार मसान्तमै सक्ने भनिएको योजना ७ महिना पर धकेलिँदासम्म पूरा पार्क तयार हुन सकेको छैन ।

सिँचाइ कार्यालयसँग लफडाले ढिलाइ भयो : महानगर

प्रदेशले राष्ट्रिय झन्डासहितको पार्क बनाउन लागेको उक्त ठाउँ क्षेत्रीय सिँचाइ कार्यालयको जिम्मामा छ । पार्कको योजना आउनुअघि त्यहाँ सर्वसाधारणलाई जान सहज थिएन । तर, प्रदेश र महानगरले पार्कको योजना ल्याएपछि भने सिँचाइ कार्यालयसँग जग्गाको विषयमा विवाद भएको थियो ।

‘पार्कका लागि पर्खाल लगाउने विषयमा सिँचाइ कार्यालयसँग केही विवाद भएको थियो,’ महानगर सूचना अधिकारी भरतराज पौडेलले भने, ‘विवाद मिलाएर अघि बढ्नु पर्ने भएकाले पनि योजना कार्यान्वयनमा केही ढिलाइ भएको हो ।’ उनले सिञ्चाइ कार्यालयसँग विवादलाई देखाएर ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरिरहेको तर, महानगरलाई मान्य नहुने चेतावनीसमेत दिए ।

‘काम रोकिएको सिँचाइ कार्यालयले गर्दा हो हाम्रो कारण होइन भनेर बीचमा ठेकेदार कम्पनीले म्याद थपको माग राखेको थियो,’ पौडेलले भने, ‘हामीले म्याद थप्न सक्दैनौं भनेका छौं ।’ उनले सिँचाइ विभागसँगको विवाद मिले पनि ठेकेदार कम्पनीकै कारण काममा ढिलाइ भइरहेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?