
२२ माघ, काठमाडौं । ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा धनी र मोही भनिएकामध्ये ३१ जनालाई प्रतिवादी बनाएको छ ।
अख्तियारले बुधबार विशेष अदालतमा दायर गरेको आरोपपत्रमा जग्गा धनी दाबी गर्दै आएका रुक्म समशेर जबरा, हाटक समशेर जबरा, हेमन समशेर जबरा, सुनिती राणा, शैलजा राणा, हेमाद्री समशेर जबरालाई पनि विपक्षी बनाइएको छ ।
हेमन शमशेर, सुनिती राणा र शैलजा राणाको मृत्यु भइसकेको छ ।
रुक्म समशेर कांग्रेसका स्वर्गीय नेता सुवर्ण शमशेरका छोरा हुन् । सुनिती राणा जेठी र शैलजा राणा सुवर्णकै माहिली बुहारी हुन । हेमाद्री सुनिती राणाका छोरा हुन् ।
अख्तियारले विपक्षी बनाएकामध्ये हाटक र हेमन सुवर्णका अर्का छोरा कञ्चन समशेरका छोराहरू हुन ।
राणा परिवारलाई राष्ट्र सेवक कर्मचारी/पदाधिकारीलाई अनुचित प्रभाव पारी सरकारी, सार्वजनिक जग्गा गैरकानूनी रुपमा आफ्नो नाममा दाखिल खारेज दर्ता, हाल साविक गराई आफूलाई प्रत्यक्ष लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानी पुर्याएको अभियोग छ ।
बलुवाटारको जग्गा प्रकरण चर्किदै जाँदा ‘सुवर्णसमशेर परिवारको तर्फबाट’ भनेर १७ बुँदे विज्ञप्ति प्रकाशित भएको थियो । विज्ञप्तिमा रुक्म समशेर राणा, हेमाद्री समशेर राणा र हाटक समशेर राणाले हस्ताक्षर गरेका थिए ।
पूर्वसचिव शारदाप्रसाद त्रितालको अध्यक्षतामा गठित छानविन समितिले ललिता निवासको सरकारी जग्गा अवैध तरिकाले व्यक्तिका नाममा गरेको निश्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएपछि सरकारले २८ फागुनमा विवादित जग्गा रोक्का राख्ने निर्णय गरेपछि राणा परिवारका तर्फबाट विज्ञप्तिबाजी भएको थियो ।
प्रतिक्रिया 4