+
+

ललिता निवास जग्गा प्रकरणः छुट्टै मुद्दा दर्ता गर्ने सीआईबीको तयारी

गौरव पोखरेल गौरव पोखरेल
२०७६ माघ २२ गते १९:३८

२१ माघ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि ललिता निवास जग्गा प्रकरणमा छुट्टै मुद्दा दायर गर्ने भएको छ ।

प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १ सय ७५ जनाविरुद्ध भ्रष्टचार निवारण ऐन, २०१७ अनुसार मुद्दा दायर गरिसकेको छ । तर सीआईबीले मुलुकी ऐनको कीर्ते र ठगी सम्बन्धी कसूरमा अर्को मुद्दा दायर गर्ने तयारी गरेको हो ।

ललिता निवास र त्यसले चर्चेको ११४ रोपनी जग्गा हिनामिना प्रकरणमाथि अनुसन्धान गर्न सीआईबीले २८ फागुन ०७५ मा जिम्मेवारी पाएको थियो । प्रारम्भमा ब्युरोलाई अनुसन्धानका लागि तीन महिना समय दिइएपनि पटकपटक थप गरेर एक वर्षमा अनुसन्धान प्रतिवेदन तयार भएको थियो ।

ब्युरोका एसपी बेलबहादुर पाण्डेकाअनुसार १६ माघमा अनुसन्धान प्रतिवेदन प्रहरी प्रधान कार्यालयमार्फत गृह मन्त्रालयमा बुझाइएको छ । यद्यपि, ‘माथिको संकेत’ कुर्दै ब्युरोले मुद्दा दायर गरेको थिएन ।

सीआईबीका एक अधिकृतकाअनुसार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छेदार लगायतलाई प्रतिवादी बनाउने/नबनाउने भन्ने निर्क्र्यौल गर्न नसक्दा मुद्दा दर्ता हुन सकेको थिएन । तर अहिले आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरिसकेकाले ठगी र कीर्ते सम्बन्धी कसूरमा अर्को मुद्दा दर्ता गर्ने सीआईबीले तयारी गरेको छ ।

सीआईबीको मुद्दा जिल्ला अदालत, काठमाडौंमा दर्ता हुनेछ । यद्यपि, कति जनाविरुद्ध मुद्दा दर्ता हुन्छ भन्ने खलिसकेको छैन । ‘हाम्रो पनि संख्या सानो छैन’, एसपी पाण्डे भन्छन्, ‘तर, अख्तियारले दायर गरेको मुद्दामा प्रतिवादी बनाइएका हाम्रोमा नपर्न पनि सक्छन् र हाम्रोमा प्रतिवादी बनाइएका अख्तियारमा नपर्न पनि सक्छन् ।’

दुई निकायको अनुसन्धान गर्ने दायरा फरकफरक भएकाले त्यसो हुनसक्ने उनले बताए । उनले अनलाइनखबरसँग भने, ‘अख्तियारलाई कसैको कारणले हानी नोक्सानी भएको लाग्न सक्छ भने हाम्रो अनुसन्धानमा कीर्ते कागजमा हस्ताक्षर भएको भए पनि मुद्दा दर्ता हुन्छ । त्यसैले दुवै मुद्दा अलि फरक हुन्छ ।’

यद्यपि गृहमा बुझाइएको प्रतिवेदनकै आधारमा मुद्दा दायर हुने उनले बताए ।

स्रोतका अनुसार प्रतिवेदनमा कीर्ते गरेर नक्कली मोही खडा गरी सरकारी सम्पत्तिमा हानी पु‍र्‍याइएको निष्कर्ष निकाल्दै एक सय बढीविरुद्ध कारबाही सिफारिस गरिएको छ ।

सीआईबीले कारबाही सिफारिस गरेकामा पूर्वमुख्य सचिव एवं हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिव छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसह–सचिव कलाधर देउजा, गेहनाथ भण्डारी र सुधीर शाह छन् ।

त्यस्तै मुख्य योजनाकार भनिएका डा. शोभाकान्त ढकाल, रामकुमार सुवेदी, भाटभटेनी सुपर मोर्कटका मीनबहादुर गुरुङ, तत्कालीन मालपोत अधिकृत हुपेन्द्रमणि केसी, भोगाधिकारी रुक्मशमशेर राणा, हेमाद्री राणा, गेहनाथ भण्डारीलाई पनि कारबाही गर्नुपर्ने भनिएको छ ।

ब्युरोले अनुसन्धानका क्रममा डेढ सय जनासँग बयान लिएको थियो । तर अधिकांशले आरोप अस्वीकार गरेका छन् ।

राजदूत पौडेलसँग पनि ब्युरोले १५ मंसिरमा इमेलमार्फत बयान लिएको थियो । करिब साढे ३ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको नाममा लगेर नक्कली मोही खडा गर्ने कार्यमा उनी संलग्न रहेको सीआईबी दाबी छ ।

पौड्यालले भने यो दाबीको खण्डन गरेका थिए । अख्तियारले मन्त्रिपरिषदको निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै पौड्यालविरुद्ध मुद्दा चलाएको छैन ।

ब्युरोले उनीविरुद्ध मुद्दा चलाउँछ/चलाउँदैन भन्ने चाहिँ स्पष्ट भइसकेको छैन ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?