+
+

घरधनी शेरचनले गरे एक महिनाको भाडा छुट

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ११ गते १९:०८

११ चैत, बुटवल । बुटवलका एकजना घरधनीले कोरोनाको असरका कारण भाडामा बस्ने व्यवसायी पनि मारमा परेको भन्दै एक महिनाको घर भाडा नलिने घोषणा गरेका छन् ।

बुटवल अमरपथका घरधनी मृगेन्द्र शेरचनले आफ्नो घरका सटर, गोदाम र कोठा भाडामा लिएर व्यवसाय गर्दै आएका सबैलाई चैत महिनाको भाडा नलिने निर्णय गरेका हुन् ।

बुटवलको व्यस्त ब्यापारिक केन्द्रमा रहेको उनको घरमा १८ जना व्यवसायीले पसल चलाएका छन् । उनीहरुबाट एक महिनामा पाँच लाख रुपैयाँभन्दा बढी भाडा प्राप्त हुने गरेको शेरचनले बताए ।

‘कोरोनाको असरले व्यापार नै गर्न पाएका छैनन्, पसल पनि बन्द भएका छन्, यस्तो अवस्थामा कसरी भाडा लिनु ?’ शेरचनले भने, ‘अप्ठेरो अवस्थामा घरधनीले भाडामा बस्नेको पिरमर्का बुझ्नुपर्छ भन्ने सन्देश सबैतिर जाओस् भनेर यो निर्णय गरेको हुं ।’

अप्ठेरो अवस्था लम्बिदै गए अवस्था हेरी अरु महिनाको भाडा पनि नलिने मनस्थिति आफूले बनाएको शेरचनले बताए ।

शेरचन बुटवलको तिनाउ एफएमका मालिक पनि हुन् । घरबहाल सरोकार महासंघले कोरोनाका असरका कारण भाडामा बस्ने व्यवसायी मर्कामा परेको भन्दै तीन महिनाको घरभाडा ५० प्रतिशत छुट गर्न माग गरेको थियो ।

महासंघका केन्द्रीय अध्यक्ष शंकर कोइरालाले बुटवलका घरधनी शेरचनले निर्णय न्यायोचित र सराहनीय भन्दै देशभरका घरधनीले यसलाई अनुसरण गरे बहालमा बस्नेहरुले राहत पाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?