+
+

सौराहाका व्यवसायी भन्छन् : मान्छेभन्दा हात्तीकै चिन्ता धेरै भयो

सुवास पण्डित सुवास पण्डित
२०७६ चैत १९ गते १०:४७

१९ चैत, चितवन । चितवनको सौराहाका हात्ती व्यवसायीहरुले लकडाउनका कारण हातीले खाने आहाराको अभाव हुन चालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

होटलमा आउने पर्यटकहरुलाई सामुदायिक वनमा हात्ती सफारीमा लैजाने हात्तीका लागि आवश्यक दाना अभाव हुन थालेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।

‘अहिले सामुदायिक वनमा घाँस छैन, चराउन लैजान पनि मिलेको छैन’ अध्यक्ष भट्टराईले भने, गोदाममा स्टक गरेर राखिएको आहारा पनि सकिन लाग्यो, थप किन्न पाइएको छैन, पराल छैन, चराउन पाइएको छैन ।’

सौराहामा निजी हात्ती ७० वटा छन् । एक हात्तीलाई दिनमा विभिन्न किसिमका दुई सय ५० केजी खानेकुरा आवश्यक पर्छ । दैनिक २० केजी त धान मात्रै आवश्यक पर्छ । अध्यक्ष भट्टराइले भने, ‘अहिले मान्छेको भन्दापनि चिन्ता हात्तीको हुन थाल्यो, बचाउने कसरी हो भन्ने समस्या आइलाग्यो ।’

हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले लकडाउन लम्बिँदै गए हात्तीहरु खान नपाएर मर्ने अवस्था आउने बताए । हात्ती सफारीमा जाँदा हात्तीहरु चर्थे, माहुतेहरुले पनि घाँस ल्याउथेँ तर अहिले यस्तो अवस्था छैन, हात्तीको पेट केले भर्ने भन्ने चिन्ता हुन थाल्यो, अध्यक्ष तिवारीले भने ।

सौराहा आउने पर्यटकहरुलाई हात्ती सफारीमा जाँदा सहकारी संस्थाले प्रतिहात्ती प्रवेशको सामुदायिक वनलाई ७ सय, प्रतिव्यक्ति नेपालीलाई एक सय ५०, सार्क क्षेत्रका पर्यटकलाई एक हजार र अन्य देशका विदेशीलाई दुई हजार लिने गरेको छ । निजी हात्तीहरु कुमरोज सामुदायिक वन, खोरसोर मध्यवर्ती क्षेत्र, चित्रसेन सामुदायिक वन र बाघमारा सामुदायिक वनमा सफारीका लागि लैजाने गरिन्छ ।

निकुञ्जले घाँस वा चराउन दिनुपर्छ- व्यवसायी

अहिले हात्तीमा देखिएको भोकमरीको समस्या समाधानका लागि चितवन राष्ट्रिय निकुञ्जले कुनै निश्चित क्षेत्रमा हात्ती चराउन दिनुपर्ने माग व्यवसायीले गरेका छन् ।

निकुञ्जले हात्ती चराउन नदिने भए घाँस काटेर ल्याउने व्यवस्था मिलाएर भएपनि हात्ती बचाउन सहयोग गर्नुपर्ने बताए । हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले निकुञ्जले मेसिन लगाएर घाँस काटेर फाल्ने गरेको भन्दै सो घाँस घरपालुवा हात्तीलाई दिएर बचाउनुपर्ने बताए ।

पुरानो पदमपुरको पूर्वी क्षेत्र नजिक रहेको गैंडा होटल आसपासमा राम्रो घाँस रहेकोभन्दै सो घाँस निकुञ्जले दिनुपर्ने उनले बताए । ‘जनकौली सामुदायिक वन नजिक घाँस छ, निकुञ्जले काटेर फाल्छ, हामीलाई सीमा तोकेर हात्ती चराउन दिए हात्ती बाँच्थे’ तिवारीले भने ।

सौराहाका निजी हात्तीलाई निकुञ्ज प्रवेशमा रोक लगाइएको छ । यहाँ आउने पर्यटकलाई सामुदायिक वनमा घुमाएर फर्काउने गरिएको छ । २०७५ असोज २९ गते निकुञ्जको नियमावली संसोधन गरी निजी हात्तीलाई निकुञ्ज प्रवेशमा रोक लगाइएको हो । बाहिरका हात्तीभित्र जाँदा रोग सार्न सक्ने खतरा देखिएकाले रोकिएको दाबी निकुञ्जको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले सौराहामा व्यवसायिक प्रयोजनबाट हात्ती पालेकाले बचाउने दायित्व र काम व्यवसायीको नै भएको बताए । उनले निजी हात्तीलाई निकुञ्ज प्रवेश गर्नदिने कुरा कानुनले नै बर्जित गरेकाले सम्भावना नभएको बताए । ‘अन्तिम नै भयो, मर्ने नै अवस्था आयो भने केही सोच्न सकिएला’ प्रमुख संरक्षण अधिकृत रुपाखेतीले अनलाइनखबरसँग भने, ‘कुनै निश्चित क्षेत्रको घाँस काटेर लैजाउ भन्नसम्म सकिन्छ ।’

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?