२६ चैत, काठमाडौं । लामो लस्करमध्येबाट एकजना बोले, ‘बोक्न गाह्रो होला भनेर पानी धेरै राखिएन । तिर्खाले मरिने पो हो कि ?’ लगत्तै सँगै रहेका अर्का मानिसले प्रतिक्रिया दिए, ‘सुनकोशीमा हामफालौँला नि तिर्खाएर मर्नुभन्दा त ।’
अनुमान गर्न सकिन्थ्यो यो लस्कर धेरै टाढा पुग्नेहरुको हो । आवाजमा पीडा र आक्रोश मिसिएको थियो ।
घडीमा रातको ९ बज्दै थियो ।
एक हुल मानिसहरू कोटेश्वर-भक्तपुर सडकमा हिँड्दै थिए । कसैको शरीरमा ठूलो, कसिएको झोला थियो । कसैको काँधमा बोरा । फित्ते चप्पलको सहारामा पैदल यात्रा गरिरहेका उनीहरुको मुहारमा बाध्यता झल्किरहेको थियो ।
विश्वभर कोभिड-१९ को भय छ । हाम्रो देश पनि अछुतो छैन । त्यसैमाथि लकडाउनको समय हुनाले जो कोहीले पनि भिडलाई प्रश्न गर्न सक्थ्यो ।
सोध्यौँ, ‘यति धेरैजना समूहमा कहाँ जाँदै हुनुहुन्छ ?
भिडबाट एकजना बोले ‘सुनसरी, इनरुवा ।’
‘त्यति टाढासम्म पैदल..?’ हामीले थप्यौँ, ‘यो त गलत भएन र ? लकडाउनको समयमा त सकेसम्म घरबाट ननिस्कने । निस्किहाले पनि समूहमा ननिस्कने । अनि, आवश्यक परेर समूहमा निस्किहाले पनि निश्चित दुरी कायम गर्ने भनेर सरकारले भनेको थाहा पाउनुभएन कि क्या हो ?’
प्रश्नमा जवाफ दिँदै एकजनाले भने-
‘सबै थाहा छ, थाहा भएर मात्र पनि नहुँदो रहेछ, सर । हामी सबै, सँगै बस्ने र काम गर्ने साथी हौँ । एउटा कन्ट्रक्सनमा काम गर्छौँ । काम नभएको थुप्रो दिन भयो । आफूसँग भएको खानेकुरा सकिनै लाग्यो । सरकारले भनेको आजसम्म मान्यौँ । लकडाउन आज सकिएला कि भन्ने थियो, फेरि थपियो । अब पनि काठमाडौंमै बसे खानेकुरा सकिएर भोकभोकै मरिनेजस्तो लाग्यो, हामी त बचेको खाना बोकेर राति नै हिँड्यौँ । दिनमा त निस्किनै दिन्नन् ।’
फेरि सोध्यौँ-
‘सरकारले त तपाईंहरूलाई नै भनेर राहत बाँड्ने भनेको छ । ज्यालादारीमा काम गर्नेहरू भोकै नमरुन् भनेर आजै प्रधानमन्त्री बोल्नुभएको छ, बस्ने ठाउँतिर कतै राहत बुझ्नुभएन ?’
‘हामीले बुझेको तर, वडा कार्यालय जाँदा यहाँबाट केही समाधान हुन्न’ भनेर पठाउनु भो’ बोलिरहेका एकजनाले जवाफ फर्काए ।
मंगलबार बिहान ११ बजे देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन आउँदै थियो । त्यसको ठूलो अर्थ थियो । अर्थ यस मानेमा थियो कि प्रधानमन्त्री देशवासीका अभिभावक हुन् ।
नेपालमा कोरोना संक्रमणको आजको अवस्था, तोकिएको लकडाउन समय थप्ने घोषणा र त्यसले प्रभाव पारेका क्षेत्रहरूमा राज्यको क्रियाशीलता सरकारले गरेको कामको उपलब्धिबारे सबैको चासो थियो ।
प्रधानमन्त्री ओली तोकिएको निश्चित समयभन्दा केही ढिला आए । लकडाउनलाई जेल जीवनसँग तुलना गरेर आफ्ना अनुभव सुनाए । ज्याला मजदुरीमा काम गर्नेहरुलाई भोकै मर्न नदिइने र सरकारले यसबारे तयारी गरिरहेको बताए ।
तर, विडम्बना ! त्यसै साँझ खानाको अभावले एक हुल मजदुरहरु ललितपुरबाट सुनसरीको इनरुवाको जटिल यात्रा तय गर्दै थिए । त्यो पनि फित्ते चप्पल र फुको चिउराको साहारामा ।
प्रधानमन्त्रीको वक्तव्यमा काम गर्ने मजदुर भनेर उनीहरुले स्थान त पाए । तर, वडा कार्यालयमा राहतको आशा गरेर पुग्दा यहाँबाट केही हुन्न भनेर निराश पारेर फर्काइए ।
प्रधानमन्त्रीले वक्तव्यमा यस समयमा सबैलाई साथ दिन आह्वान गर्दै आफू भ्रष्टाचारविरोधी रहेको जानकारी पनि दिए । थाहा छैन, यो सम्बोधन आवश्यक थियो या थिएन ।
यसरी जटिल यात्रा तय गर्नु केही दिनअघि उनीहरुले पासका लागि स्थानीय जनप्रतिनिधि गुहारेका थिए । त्यताबाट उतै मिलाएर आओ भन्ने जवाफ पाए । यताको वडा कार्यालय जाँदा यहाँबाट हुन्न भनेर ‘गृह मन्त्रालय जानू’ भनियो ।
बरु रातको १० बजे सकसपूर्ण यात्रा गर्न उनीहरुले जोखिम देखेनन् । तर, मन्त्रालय पुग्ने हिम्मत जुटाएनन् । र, बोरामा चिउरा, लुगाका पोका पन्तुरा बोकेर समूहमा निस्किए ।
त्यही भिडमा रहेका एकजनाले अनलाइनखबरलाई सुनाए, ‘परिवारको भोक मेटाउन राजधानी आएका थियौँ । तर, अहिले आफैँले खाना नपाएर गाउँ फर्कनुपर्यो ।’
गन्तव्य- ललितपुरदेखि सुनसरीको इनरुवा । लगभग चार सय किलोमिटरको बाटो । एक हप्तामा पुगिएला कि भन्ने अनुमान ।
यो मनस्तथिति बोकेर पैदल हिँडिरहेका ३७ जनालाई हामीले मंगलबार रातको ९ बजे भक्तपुरस्थित कौशलटारमा भेटेका थियौं । खानेकुरा सकिएपछि बाध्य भएर सहर छाड्नु परेको बताउने उनीहरुको हिँडाइको चालसँगै हामी पनि केही क्षण हिँड्यौँ ।
हिँड्दा हिँड्दै उनीहरुसँग केही कुराकानी भए ।
सरकारले लकडाउन सात दिनपछि खुल्ने संकेत दिएको छ, तपाईंहरु पुग्दैमा सात दिन लाग्ला, सात दिनलाई पुग्ने खानेकुरा पनि छैन त तपाईंहरुसँग ?
हामी त बस्ने पनि, काम गर्ने पनि साइटमै हो । कोठामा बस्ने भएको भए अर्कै कुरा हुन्थ्यो । साइटमा हामीसँग धेरै खानेकुरा छैन । किन्न जान पैसा पनि छैन । यहीँ भोकले मर्नुभन्दा त बरु बौलाउनु नै जाति भनेर हिँड्यौँ ।
उपत्यका कटेपछि तपाईंहरुलाई लिन गाडी आउला नि ? बोलाउनु भएको छ होला नि ?
छैन । कसले लिन आउने हामी मजदुरलाई ?
अनि यता काम गर्ने वडामा पास बनाउन जानुभएन त ?
गएका थियौँ । तर, यहाँबाट केही हुन्न, गृहमन्त्रालय जाओ भने । अब गृहमन्त्रालय कता हो, के हो, त्यहाँ गएर के गर्ने हो, केही थाहा छैन । झण्झट के बोक्नु भनेर गएनौँ ।
अनि इनरुवाका जनप्रतिनिधीलाई फोन गरेर सहयोग माग्नुभएन ?
फोन त धेरै गरियो नि सर । तर, सबैले यताबाट केही हुन्न, उतै (काठमाडौंमै) व्यवस्था मिलाएर आओ भने । यता कसैलाई केही भन्दिएनन् । हामी मजदुरलाई कसले गन्ने सर ।
गाडीको पास मिलाउन नसके पनि त्यतै बस, खानेकुराका लागि सहयोग गर्छौं भनेर तपाईंहरुले भोट हालेका जनप्रतिनिधिले केही भनेनन् ?
‘त्यहीँ बस, खानेकुरा मिलाइदिन्छौँ’ भनेका भए त किन यस्तो बिजोक गरेर हिँड्थ्यौँ र सर । जति आग्रह गर्दा पनि कसैले केही सहयोग नगरेपछि त यो अवस्था आयो नि । रहरले यसरी पक्कै हिँडेनौँ होला नि है ?
उनीहरुको कुरा सुन्दा प्रष्ट हुन्थ्यो, खानेकुरा नभएकै कारण उनीहरु यो यात्रा तय गरिरहेका छन् । कन्ट्रक्सन साइटमा काम गर्ने मजदुर भएकै कारण कतैबाट सहयोग पाएका छैनन् ।
उनीहरुसँग हिँड्दा हिँड्दै प्रश्नहरु उब्जिए, के मजदुर हुनु भनेको अनागरिक हुनु हो ? मजदुरको भोटको कुनै मूल्य नै छैन ? भोकभोकै कन्ट्रक्सन साइटमा दिन काटिरहेका मजदुरहरुलाई ठेकदार वा राज्यले लकडाउन अविधिभर पाल्न सक्दैनन् ? उनीहरुजस्तै कन्ट्रक्सन साइटमा भोकभोकै दिन काटिरहेका मजदुर कति होलान् ? सबै मजदुरले यस्तो सकसपूर्ण यात्रा तय गर्न सक्लान् ?
यी प्रश्नको जवाफ कसले दिने खै ?
उनीहरुसँग कुराकानी गर्दागर्दै हामी गठ्ठाघर पुग्यौँ । गठ्ठाघरमा सवारी साधन चेकिङ भइरहेको थियो । हामीले सोध्यौँ-
बाटोमा सुरक्षाकर्मीहरुले अवरोध गर्लान् नि, यसरी समूहमा हिँड्दा ?
समूहमा हिँडेका एकजना बोले, ‘जेसुकै गर्छ, गर्छ । अब हिँडेपछि हिँडियो हिँडियो । यहाँ भोकभोकै मर्नुभन्दा त पक्रिएकै जाति ।
(उनीहरुको कुरा सुनिरहेका एक प्रहरी जवानले हाँस्दै भने, ‘हो त हिँडेपछि हिँड्यो, हिँड्यो है ! प्रहरी जवानले केही सोधपुछ गरेनन् ।)
तपाईंहरु गएपछि उता इनरूवामा क्वारेन्टाइन हाल्दिएलान् नि ?
काम बन्द भएको एक महिना बढी भयो । हामी साइटभित्रै छौँ । बाहिर निस्कन पाएका छैनौँ । खै किन हाल्लान् र क्वारेन्टाइनमा ।
(उनी बोल्दाबोल्दै त्यही समूहका अर्को मानिस बोले) ‘काम बन्द नभएको भए त खान पाइन्थ्यो होला यहीँ । खानाको लागि पैसा भएको भए जान्थ्यौँ ।’
साहुहरुले केही एड्भान्स दिएनन् ?
साहुसँग सम्पर्क नै हुन्न ।
अनि ठेकेदारले त केही व्यवस्था गर्नुपर्ने ?
ठेकेदार पनि त हामीजस्तै त हो नि । साहुले दिए पो दिन्छन् । केही व्यवस्था गर्दिएको भए त यो दिन आउन्नथ्यो नि ।
बाटोमा अप्ठ्यारो पर्ला नि … ?
यति लामो बाटोमा अप्ठ्यारो त परिहाल्छ नि सर..। चिउराको भरमा हिँडेका छौँ। खल्तीमा पैसा छैन । पानी पनि बोकेका छैनौं । यति लामो बाटोमा केही न केही त गाह्रो परिहाल्ला नि । जस्तो पर्ला त्यस्तै टर्ला भनेर हिँडेका हौं । जहाँ पानी भेटिन्छ, त्यहीँ चिउरा खान्छौँ ।
बाटोमा अप्ठ्यारो पर्ला कि भनेर डराउने उनी कृष्णकुमार सिंह थिए । उमेर ५६ वर्ष । होचो कदका उनी अरु यात्रुभन्दा अलिक मोटा देखिन्थे । हिँडाइको रफ्तार अरुको भन्दा कम थियो । उनको हिँडाइ हेर्दा केही गाह्रो परेको बुझिन्थ्यो ।
उनी काठमाडौंको कन्ट्रक्सन साइटहरुमा फर्माको काम गर्दा रहेछन् । काठमाडौंमा यस्तो काम गरेको २० वर्ष नाघिसकेको रहेछ । उनले भने, ‘अलिअलि कमाएको पैसा घर पठाइयो, अहिले आफूलाई खानका लागि नि अभाव भयो ।’
घरमा आउँदै छु भनेर खबर गर्नु भयो त ?
अँ, गरिसकेँ ।
अनि यस्तो बुढो मान्छे, घरकाले नआउनु भन्नुभएन ?
अँ, भनेर के गर्नु, यहाँ के खाएर बस्नु ? यहाँ बस्न त पैसा हुनुपर्यो नि ।
अनि सरकारले त अहिले काम गर्ने मजदुरहरुलाई राहत दिइरहेका छौँ, भोकै मर्नुपर्दैन भनेर भनिरहेको छ, कतै राहत लिन जानुभएन ?
खै कता दिइरा/छ, थाहा भएन । यहाँको वडा कार्यालय गएको यहाँ केही मिल्दैन भनेर पठाएँ । कता के पाइन्छ भनेर जानकारी नै भएन ।
काम गरेको ज्याला सबै पाउनु भयो त ?
साहुले पछि पठाइदिन्छु भनेको छ ।
अनि यति लामो बाटो हिँड्न सक्नुहुन्छ त ?
यति धेरै साथीहरु छन्, हाँस्दै बोल्दै पुगिएला नि ।
००००
मजदुरहरुसँग कुरा गर्दै हामी भक्तपुर सूर्यविनायकसम्म पुग्यौँ । रात छिप्पिँदै गयो, हिँडाइको चाल बढ्दै ।
शुभयात्रा भन्दै हामी त्यहाँबाट फर्कियौँ ।
फर्किँदै गर्दा मनमा लाग्यो, ‘लकडाउन अविधिभरि पनि पाल्न नसकेको यो काठमाडौंमा उनीहरु फेरि फर्किएलान् ? काठमाडौंमै एक बोरा चामलको प्रवन्ध मिलाउन नसक्ने जनप्रतिनिधिहरुलाई आगामी चुनावमा के आशले फेरि भोट देलान् ?’
तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4