
१ वैशाख, काठमाडौं । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको र्यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ ।
उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ ।
पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका निर्देशक विष्णु शर्माले बताए । उनीहरुको रिपोर्ट भने मंगलबार साँझसम्म आउने अस्पतालले जनाएको छ ।
अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु २८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्षण देखिएपछि र्यापिड टेष्ट गरिएको थियो ।
सनसीटीमा पाँचवटा बिल्डिङहरु छन् ।
तीमध्ये ए बिल्डिङमा बस्ने एक परिवारका उनीहरु बेलायतबाट फर्केको छिमेकीहरुलाई यसअघि नै थाहा थियो । सनसीटीमा बस्ने एकजनाले अनलाइनखबरसँग भने, ‘अस्तिदेखि विदेशबाट आएर बसिरहेका थिए, जचाउन पनि गएका थिएनन्, कोरोना सार्ने हुन् कि भन्ने डर हामीलाई लागिरहेको थियो, आज त अस्पताल लगिएछ ।’
तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ ।
अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ ।
प्रतिक्रिया 4