+
+

लकडाउनको एक महिना : अब खुकुलो पार्ने कि स्वरुप फेर्ने ?

चिरञ्जीवी पौडेल चिरञ्जीवी पौडेल
२०७७ वैशाख ११ गते २०:३६

११ वैशाख, काठमाडौं । नेपालमा लकडाउनको सकसपूर्ण यात्रा आजबाट दोस्रो महिनामा प्रवेश गरेको छ । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले प्रयोग गरेको यो अस्त्रको प्रभावकारिता विश्लेषण गर्दै नयाँ रणनीति बनाउने ठीक समय हो यो ।

फ्रान्सबाट नेपाल फर्केकी एक युवतीमा कोरोना संक्रमण देखिएसँगै सरकारले ११ चैतबाट देशलाई लकडाउनमा राखेको थियो । ती युवती (प्रसिद्धी श्रेष्ठ) कोरोना संक्रमित दोस्रो नेपाली थिइन्, जो अहिले स्वस्थ भएर घर फर्किसकेकी छन् । उनीपछि भेटिएका पाँच संक्रमित पनि ठीक भइसकेका छन् । तर, संक्रमित थपिने क्रम जारी छ । त्यही भएर सरकारले लकडाउन खोल्नेबारे स्पष्ट सोच बनाउन सकेको छैन ।

एक महिने लकडाउनको समीक्षा गर्दा दुईवटा कोणबाट हेरिनुपर्छ– पहिलो, जनस्वास्थ्य र दोस्रो, जनजीविका । केही देशले जनस्वास्थ्यमा कुनै जोखिम मोल्न नहुने भनेर कोरोना भाइरस देखिनासाथ पूरै लकडाउनमा गएका छन् । कोरोनाबाट अहिले बच्न सके अर्थतन्त्रलाई पछि पुनरुत्थान गर्न सकिन्छ भन्ने अवधारणा यसमा छ । नेपाल सरकारले अहिलेसम्म यही विधि अपनाएको छ ।

सैद्धान्तिकरुपमा हामी महामारीको तेस्रो चरणमा पुगेको भनिए पनि व्यवहारिकरुपमा चाहिँ महामारीमा प्रवेश नै गरेका छैनौँ

अर्को अवधारणाले लकडाउनका नाममा देशलाई पूरै ठप्प बनाउँदा अर्थव्यवस्थामा अपूरणीय क्षति हुने चिन्ता राख्छ । सावधानीपूर्वक देशको अर्थतन्त्र चलायमान राख्ने र कोरोनाविरुद्धको लडाइँ लड्ने विधि यो अवधारणाले सुझाउँछ । यो अवधारणालाई समातेर विश्वमै सबैभन्दा डरलाग्दो गरी महामारी फैलिएका अमेरिका तथा केही युरोपेली देशहरू कडा लकडाउनमा छैनन् । त्यहाँ सार्वजनिक सवारी र अत्यावश्यक उद्योग–व्यवसायहरू चलिरेका छन् ।

नेपालको सन्दर्भमा चाहिँ संक्रमण फैलियो भने स्वास्थ्य प्रणालीले धान्दैन र उपचार नपाएर मरिन्छ भन्ने भय व्याप्त छ । त्यसैले अर्थतन्त्रको जोखिम मोलेर पनि लकडाउन जारी राख्नुपर्ने जनमत बलियो छ ।

तर, यथार्थ के हो भने, नेपालमा अहिलेसम्म कोरोना लागेर कसैको मृत्यु भएको छैन । ८ जना निको भएर घर फर्किएका छन् । अस्पतालमा रहेका संक्रमितहरू पनि सामान्य अवस्थामा छन् । अधिकांशमा त रोगको लक्षणसमेत देखिएको छैन । संक्रमणको दर पनि नियन्त्रणभित्रै छ । एक महिनामा ४५ जना संक्रमित भेटिएका छन् । यो ठूलो संख्या होइन ।

सैद्धान्तिकरुपमा हामी महामारीको तेस्रो चरणमा पुगेको भनिए पनि व्यवहारिकरुपमा चाहिँ महामारीमा प्रवेश नै गरेका छैनौँ । लकडाउनकै कारण संक्रमण नफैलिएको धेरैको बुझाइ छ ।

कोरोनाबारे सचेतना फैलाइरहेका जनस्वास्थ्यविद डा. रवीन्द्र समीर भन्छन्–

कोरोना संक्रमण फैलिनसक्ने अविध सामान्यतया १४ वा २१ दिन मानिन्छ । यो अवधि हामीले लकडाउनमा बसेर घरभित्रै गुजारिसकेका छौँ । तसर्थ एउटा खतराको चरण पार भएको छ ।

अहिलेसम्मको स्थिति हेर्ने हो भने नेपालमा संक्रमण भयावहरूपमा फैलिएको छैन । संक्रमित कोही पनि आईसीयूमा वा भेन्टिलेटरमा गएका छैनन् । बागलुङमा ६८ वर्षकी आमा पनि स्वस्थ भएर फर्किनुभएको छ ।

नेपालमा संक्रमण नफैलिनुमा लकडाउन नै मुख्य कारण हो भन्ने मलाई लाग्छ । काठमाडौंकै उदाहरण लिउँ । फ्रान्सबाट आएकी प्रसिद्धी श्रेष्ठलाई संक्रमण देखियो । तर, उनीबाट कसैमा सरेको पाइएन । यो यसकारण सरेन कि उनी एयरपोर्टमा ओर्लिएदेखि नै पूर्णरुपमा सेल्फ आइसोलेसनमा बसेकी थिइन् । सनसिटीमा दुईजनामा देखियो । तर, उनीहरू पनि १४ दिनसम्म आइसोलेसनमा रहेका थिए । त्यसैले उनीहरूबाट पनि अन्यत्र फैलिएन । यदि लकडाउन नभएको भए यी संक्रमतिहरू समुदायमा घुलमिल हुन सक्थे र संक्रमण फैलिने खतरा हुन्थ्यो ।

युरोप र अमेरिकाले समयमा लकडाउन नगर्दा नै महामारी फैलियो । नेपालमा सरकारले समयमै लकडाउनको निर्णय लिएकाले फैलिन नपाएको हो । त्यसैले नेपालमा एक महिनाको लकडाउन जनस्वास्थ्यको हिसाबले फलदायी रहेको म मान्छु ।

नेपालमा प्रवेश भएको कोरोना भाइरस चीन र युरोप अमेरिकामा जस्तो खतरनाक पनि नदेखिएको डा. समीरको बुझाइ छ । उनी भन्छन्-

चीनमा फर्स्ट जेनेरेसनको ओरिजिनल भाइरस थियो । त्यही भाइरस युरोप–अमेरिकामा पुग्यो । तर, दक्षिण एसियामा आइपुग्दा भाइरस कमजोर भएको वा कमजोर प्रजातिको भाइरस यता आएको हुन सक्छ । साथै, दक्षिण एसियाको हावापानी र रहनसहन कोरोना भाइरस प्रतिरोधी पनि हुन सक्छ ।

भारतमा २० हजार जना संक्रमित हुँदा छ सयको मात्रै मृत्यु भएको छ । जबकि भारतमा ठूलो क्षतिको अनुमान गरिएको थियो । बंगलादेशमा सखापै पार्छ भनेर डब्लूएचओले आशंका गरेको थियो । पाकिस्तानमा पनि डरलाग्दो गरी फैलिएको छैन । त्यसैले नेपालमा कोरोना भाइरसले अमेरिका–युरोपकै हालत होला कि भनेर आत्तिनुपर्ने अवस्था छैन ।

अर्थतन्त्रमा बज्रपात

अब आर्थिक कोणबाट कुरा गरौँ । एक महिनासम्म देशभरका मानिसहरू आ–आफ्ना घरभित्र स्वःनजरबन्द रहनु देशको अर्थतन्त्रका लागि अकल्पनीय परिस्थिति हो । बिगतमा एकदिन कसैले नेपाल बन्द गर्दा पनि मजदुर वर्गको रोजीरोटीको चिन्ता गरिन्थ्यो । अहिले एक महिनासम्म कफ्र्यु सरहको बन्द चल्दा ती मजदुरको अवस्था के भयो होला भनेर कल्पनामात्र गर्न सकिने स्थिति छ ।

अर्कोतर्फ, नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको वैदेशिक रोजगारी पनि धराशायी बन्न थालेको छ । अब लाखौं युवा रोजगारी गुमाएर स्वदेश फर्कने छन् । स्वदेशभित्रै पनि कयौं रोजगारदाताले कामदार कटौती गर्ने अवस्था छ । तसर्थ, आगामी दिनमा रोजगारीको ठूलो संकट उत्पन्न हुने देखिन्छ ।

अहिलेसम्म ३० दिनको लकडाउनले देशको अर्थतन्त्रमा कति क्षति पुर्‍यायो भन्ने सरकारले हचुवा आकलन पनि गर्न भ्याएको छैन । केही दिनअघि अर्थमन्त्री डा. युवराज खतिवडाले करिब दुई खर्बको क्षति भइसकेको हुन सक्ने अनुमान सुनाएका थिए । उद्योगीहरूको अनुमान पनि त्यही आसपासमा छ ।

नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पशुपति मुरारका लकडाउनले पुर्‍याएको क्षति सम्बन्धमा यसो भन्छन्-

कृषि क्षेत्रबाहेक देशका सबै आर्थिक गतिविधि ठप्प छन् । नेपालको ३४ खर्बको कुल गाह्रस्थ उत्पादनमा  ३० प्रतिशत मात्र कृषिको हिस्सा हुन्छ । यो एक महिनामा देशको जीडीपीमा २ सय अरब (दुई खर्ब) भन्दा बढी क्षति भइसकेको अनुमान छ ।

कृषिजन्य उत्पादनहरू पनि बजारसम्म पुग्न सकेका छैनन् । कति कुहिए, कति डेट एक्सपायर भए त्यसको कुनै हिसाब छैन । औद्योगिक क्षेत्रमा अत्यावश्यकबाहेक केही पनि उत्पादन भएको छैन ।

नेपालको मुख्य आयस्रोत रेमिट्यान्स क्षेत्रमा पहिरो गएको छ । मैले पढेअनुसार यो एक महिनामा ८६ प्रतिशतले रेमिट्यान्स घटेको छ । पर्यटन र उड्ययनको क्षेत्रमा परेको प्रभावबारे त मैले भनिरहनै परेन । शून्यको अवस्थामा छ । त्योबाहेक, मलाई लाग्छ साना तथा मझौला उद्योगलाई सबैभन्दा ठूलो धक्का लागेको हुनुपर्छ । जस्तो कि, काठमाडौंमा ६–७ सयवटा नयाँ कफिसपहरू खुलेका छन् । एउटाले ४०–५० लाख त लगानी गरेका होलान् । आफ्नो घर–खेत धितो राखेर बैङ्कबाट ऋण लिएका होलान् । उनीहरूले अब त्यो ऋण कसरी तिर्छन् ? घरखेत पनि जाने, व्यवसाय पनि नरहने स्थितिमा उनीहरू पुगेका छन् ।  यस्ता केसहरू कति छन् कति ।

अब मान्छेहरूसँग भएको पैसा सकिँदैछ । आम्दानीको बाटो बन्द भएको छ । सरकारले दैनिक एक सय २० अर्ब राजस्व उठाउँथ्यो । अहिले २० करोड पनि उठ्दैन । दैनिक एक अर्ब राजस्व घटेको छ । सरकारसित भएको पैसा पनि सबै स्वास्थ्यतिर डाइभर्ट गर्नुपर्ने अवस्था छ । यो निकै चिन्ताजनक स्थिति हो ।

यसर्थ, चौतर्फीरुपमा लकडाउनले अर्थतन्त्रमा एकदमै ठूलो धक्का पुगेको छ । मलाई लाग्छ देशभित्रै २०–२५ लाखले रोजगारी गुमाउने छन् । लकडाउन अवधिको पारिश्रमिक कसरी दिने भन्ने पनि ठूलो संकट छ ।

तर, सरकारले रहरले गरेको कुरा होइन । अन्य देशहरूले पनि कारोनाको महामारी रोक्न यही रणनीति लिएका छन् । त्यसैले सरकारसित पनि कुनै गुनासो छैन । तर, अबचाहिँ नयाँ रणनीतिको आवश्यकता टड्कारो देखिएको छ । साथै, संकटग्रस्त उद्योगहरूले सरकारबाटै सहुलियत/राहतको आशा राखेका छन् ।

कृषिलाई ध्यान नदिए भोकमरीको चपेटामा परिएला । सबै मुलुकले आफ्नो जोहो गर्छन्, हामीले के गर्ने ?

अब के गर्ने ?

नेपालको लकडाउन अहिले उत्कर्षमा छ । सबै उद्योगधन्दा र ठूला–व्यवसाय ठप्प छन् । देशका सीमा नाकाहरू सिल गरिएका छन् । हवाइ उड्ययन बन्द छ । कठोर लकडाउनबीच काठमाडौंमा खानबस्न समस्या परेकाहरू ठूलो दुःखकष्ट झेल्दै गाउँ फर्किने क्रम भने जारी छ ।

लकडाउन अझै लम्बिए जनजीविका गम्भीर संकटमा पर्ने निश्चित छ । राहत वितरणमा अहिले देखिएको उत्साह आगामी दिनमा सेलाउने छ । राहत खोज्ने तप्का ठूलो हुँदै जाँँदा सरकारको स्रोतले भ्याउँदैन पनि । त्यसैले अब लकडाउनको समीक्षा गर्दै यसको स्वरुप फेर्ने वा खुकुलो बनाउनुपर्ने मत प्रकट हुन थालेका छन् ।

सरकारले एक साताका लागि गरेको लकडाउनको तीन पटक म्याद थप भयो । अन्तिम पटक थपिएको म्याद अब १५ गते सकिँदैछ । त्यसपछि के गर्ने भन्ने विषयमा सरकारले छलफल थालेको छैन ।

चीनका लागि नेपालका पूर्वराजदूत लिलामणि पौडेल महामारीकै बीचमा पनि उद्योग–व्यवसाय सञ्चालन गर्नुपर्ने बताउँछन् । चीनको उदाहरण दिँदै उनी सामाजिक सञ्जालमा लेख्छन्– सीमित कामदार उद्योगभित्रै राखी संक्रमण फैलिन नदिनेगरी उद्योग चलाउन सकिन्छ । चीनमा अधिकांश उद्योग कोरोना महामारीमा पनि चलिरहे । विहारमा सिमेन्ट, छड उद्योगले अनुमति पाइसके । हामीले अलमल गरे प्रतिस्पर्धी क्षमता गुम्छ । बैंक डुब्छन् र कामदारको बिचल्ली हुन्छ ।

किसानलाई खेतीबारीमा काम गर्न दिउँ, कोरोना बाहिरबाट आउनेले सार्ने हो । गाउँकै किसानलाई अर्मपर्म रोक्नु पर्दैन । मलबिउको बन्दोबस्त थाल्नुपर्‍यो । कोरोना नियन्त्रण कुर्दा ढिलो होला । कृषिलाई ध्यान नदिए भोकमरीको चपेटामा परिएला । सबै मुलुकले आफ्नो जोहो गर्छन्, हामीले के गर्ने ?

विदेशमा काम गरिरहेको ठूलो जनशक्ति अब घर फर्किने भएकाले व्यवसायिक कृषि र ठूला पूर्वाधारका योजना ल्याएर त्यस जनशक्तिलाई काममा लगाउनुपर्ने उनको मत छ ।

जनस्वास्थ्यविद् डा. समीर नेपाल कोरोनाको खतरा एक वा दुई वर्षसम्म रहने प्रक्षेपण गरिएकाले अब लकडाउनको मोडालिटी फेर्नुपर्ने बताउँछन् । लकडाउन अवधिमा सुरक्षित देखिएका सहरहरू खोल्दै जानुपर्ने उनको राय छ ।

‘काठमाडौं, पोखरालगायत विभिन्न सहरहरू जसमा संक्रमण देखिएको छैन, अब बिस्तारै खोल्दै जानुपर्छ,’ उनी भन्छन्, ‘तर, ती सहरमा पस्ने नाकाहरू भने थुन्नुपर्छ ।’

सहरहरूलाई एकैपटक खुला नगरेर चरणबद्धरुपमा खोल्नुपर्ने उनको मत छ । पहिलो चरणमा उद्योग–व्यवसायहरूलाई सुरक्षित तरिकाले सञ्चालनमा ल्याउनुपर्ने उनले बताए ।

‘बुढाबूढीहरूलाई घरमै राखेर युवा जनशक्ति परिचालन गरी उद्योग व्यवसाय सञ्चालनमा ल्याउनुपर्छ । त्यसैगरी निजी सवारीसाधनलाई पनि पहिलो चरणमा अनुमति दिन सकिन्छ,’ डा. समीर भन्छन्, ‘पहिलो चरणको अनुभव हेरेर दोस्रो चरणमा सार्वजनिक सवारी साधनलाई खुल्ला गर्न सकिन्छ । त्यसो गर्दा ती सवारी साधनलाई निसंक्रमण गर्ने सबै विधि अपनाइनुपर्छ ।’

उद्योगपति मुरारका पनि संक्रमणको खतराका हिसाबले ‘रेड जोन’, ‘एल्लो जोन’ र ‘ग्रिन जोन’ छुट्याएर फरक–फरक रणनीति अवलम्बन गर्नुपर्ने बताउँछन् । ‘जुन ठाउँमा कुनै खतरा देखिएको छैन, त्यसलाई खोल्दै जाने विषयमा सरकारले सोच बनाउनुपर्छ,’ उनले भने, ‘अन्यथा कहिलेसम्म देश बन्द गर्ने ? कोरोनाको औषधि पत्ता लाग्न एक–दुई वर्ष लाग्न सक्छ । त्यतिन्जेल लकडाउन गर्न त सम्भव हुन्न ।’

आन्तरिकरुपमा लकडाउन खुकुलो पार्दा पनि नेपालका सीमाहरू भने लामै समय बन्द राख्नुपर्नेमा विज्ञहरू एकमत छन् । यसैगरी, अन्तरदेशीय उडानका लागि पनि अहिले हतार गर्न नहुने उनीहरूको सुझाव छ ।

‘भारतले जुन–जुलाईमा महामारी उत्कर्षमा पुग्ने आकलन गरेर त्यसबमोजिम तयारी गरिरहेको छ’, डा. समीर भन्छन्, ‘त्यो अवधिसम्म नेपाल–भारत सीमा बन्द राख्दा उचित हुन्छ ।’

लेखकको बारेमा
चिरञ्जीवी पौडेल

पौडेल अनलाइनखबर डटकमका पूर्व एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?