
१४ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विवादास्पद ओम्नी समूहसँग स्वास्थ्य सामाग्री खरिद गर्दा भएको भनिएको अनियमिताबारे छानविन थालेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि स्वास्थ्य सेवा विभागले ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग स्वास्थ्य सामाग्री खरिदको सम्झौता गरेको थियो ।
तर ओम्नीले पहिलो लट सामान ल्याएसँगै सम्झौता विवादमा पर्यो । विना प्रतिस्पर्धा महंगो मूल्यमा खरिद गरेको भनेर प्रश्न उठेपछि सरकारले हतारहतार सम्झौता रद्द गरिएको थियो ।
यसबारे छानविन गर्न आवश्यक देखिएको लेखा समितिको ठहर छ । समितिले यसका लागि खरिद प्रक्रियामा भएको सबै कागजपत्र सात दिनभित्र उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई पत्र काटेको छ ।
‘सञ्चारमाध्यम र सार्वजनिक रुपमा औषधि खरिदमा प्रश्न उठपछि हामीले पनि चासो दियौं । समिति सदस्यहरुका बीचमा अनौपचारिक कुराकानी भयो । र यसमा लागेका आरोपहरुबारे सत्यतथ्य बाहिर ल्याउनुपर्छ भनेर छानविनको थालेका छौंं,’ लेखा समिति सभापति भरत कुमार शाहले अनलाइनखबरसँग भने ।
कागजपत्र आएपछि विस्तृत अध्ययन सुरु गर्ने समिति सभापति शाहले बताए । उनी भन्छन्, ‘कागज हेरेर के भएको हो भन्न सक्छौं । समितिले यो विषयलाई यतिकै छोड्नेवाला छैन । गहिरोसँग अनुसन्धान हुन्छ ।’
मन्त्रालयको जवाफ आएपछि सामाजिक दुरी कायम गरेर समितिको बैठक बोलाउने तयारी रहेको उनले जानकारी दिए ।
प्रतिक्रिया 4