+
+

विराटनगरका मेयरको आक्रोश : काठमाडौंले हेपाहा प्रवृत्ति देखायो

काठमाडौंबाट गाडीका गाडी मान्छे पठाउने मिल्ने, यहाँबाट किन नमिल्ने ?

हरि अधिकारी हरि अधिकारी
२०७७ वैशाख १५ गते २०:५९

१५ वैशाख, विराटनगर । विराटनगरबाट पठाइएका यात्रु काठमाडौं प्रवेश नाका नागढुंगामा रोकिएपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले काठमाडौंले हेपाहा प्रवृत्ति देखाएको बताएका छन् ।

विराटनगरमा अलपत्र रहेका काठमाडौंबासीलाई पठाए पनि नागढुंगामा रोकिएपछि पराजुलीले घर जान नदिनु हेपाहा प्रवृत्ति भएको बताएका हुन् ।

आइतबार काठमाडौंमा अलपत्र विराटनगरका बासिन्दालाई लिन विराटनगर महानगरपालिकाले सातवटा बस पठाएको थियो । सोही बसमा विराटनगरमा अलपत्र काठमाडौंका १६० जनालाई पठाइएको थियो । सोमबार बिहानै नागढुंगा आइपुगेका उनीहरुलाई प्रहरीले रोकेको थियो । केहीलाई व्यक्तिगत विवरण टिपेर छाडियो भने केहीलाई नाकामै रोकियो । प्रहरीले रोकेकाहरु घण्टौंदेखि सडकमै अलपत्र परे ।

यो खबर पाएपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने, ‘काठमाडौंबाट आएका स्थानीयलाई हामी प्रकृया पु¥याएर स्वागत गरिरहेका छौं । काठमाडौंले आफ्ना बासिन्दालाई प्रवेश गर्न नदिने भन्न मिल्छ ?’

काठमाडौंमा बसोबास गरिरहेकाहरुलाई राहत वितरण गर्न नसकेको संघीय सरकारले सर्वसाधारणलाई आधा बाटोमै रोक्नु गलत भएको उनको गुनासो छ । आधा बाटोमा पुगेकाहरुलाई घर पुग्न दिनु पर्ने उनले बताए । ‘उताबाट पठाउने अनि यहाँबाट निमिल्ने विषय उपयुक्त होइन,’ उनले भने, ‘राहत वितरण गरेर अलपत्रलाई उतै राख्नुहोस्, यहाँ अलपत्रलाई हामीले व्यवस्थापन गर्छाैं ।’

सोमबार बिहान नाकामा रोकिएपछि मेयर पराजुली र प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले काठमाडौंका जिम्मेवार निकायमा समन्वय गरिरहेका छन् । नागढुंगामा रोकिएका मध्ये केही काठमाडौं प्रवेश गरेका छन् केही यात्रु रोकिएका छन् ।

‘जान नमिल्ने भए, यहाँ पनि संघीय सरकारको उपस्थिति छ, यहीँ रोक्दा हुन्थ्यो,’ प्रशासकीय अधिकृत पोखरेल भन्छन्, ‘नागढुंगामा रोकेर अलपत्र पार्न मिल्दैन ।’

कोरोना महामारी त्रासको समयमा काठमाडौं खाली गराउन अन्य जिल्लाका बासिन्दालाई घर जान दिने तर जिल्लामा अलपत्र परेका काठमाडौंबासीलाई रोक्न नहुने मेयर पराजुलीको भनाइ छ । महामारी त्रासका बेला सदरमुकामबाट जिल्ला पठाउँदा ग्रामिण क्षेत्रमा कोरोनाको जोखिम बढेको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?