
१५ वैशाख, बुटवल । रुपन्देहीको देवदह नगरपालिकाले लकडाउन सुरु भएयता अहिलेसम्म ४ हजार ६ सय ९२ परिवारलाई राहत वितरण गरेको जनाएको छ ।
प्रकोप व्यवस्थापन कोषमार्फत विपन्न, गरिब तथा दैनिक ज्यालादरी गरी जिविकोपार्जन गर्ने मजदुरलाई राहत स्वारुप खाद्यान्न वितरण गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले विनियोजन गरेको रकम र स्थानीय दाताले उपलब्ध गराएको रकमबाट १२ वटै वडामा एक करोड बढीको राहत सामग्री वितरण गरेको नगर प्रमुख हिरा केसीले बताए ।
यसैबीच नगरपालिकाले एक करोड रुपैयाँको राहत बाँडेको दाबी गरिरँदा ई–रिक्सा चलाएर गुजारा गर्ने मजदुरहरुले राहत नपाएको गुनासो गरेका छन् ।
दैनिक ई–रिक्सा चलाएर गुजारा गर्ने दुई दर्जन बढी मजदुरले राहत नपाएको कृष्ण घर्तीले गुनासो गरे । ‘दैनिक छाक टार्ने उपाय नभएका मजदुरलाई राहत दिइएको छैन,’ घर्तीले भने, ‘टाठाबाठा र राजनीतिक दलका नेताका नजिकका मान्छेले मात्रै राहत पाएका छन् ।’
नगरपालिकाले दलका कार्यकर्ताको सिफारिस र पहुँचका आधारमा राहत बाँडेको गुनासो पीडितहरुले गरेका छन् ।
प्रतिक्रिया 4