
१५ वैशाख, काठमाडौं । जनता समाज पार्टी (जसपा) नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध साइबर अपराधसम्बन्धी जाहेरी दर्ता गर्न गएका सत्तारुढ नेकपाका युवा विद्यार्थी नेतालाई काठमाडौं प्रहरीले जाहेरी नलिई फर्काइदिएको छ ।
डा.बाबुराम भट्टराई, हिसिला यमी, विश्वदीप पाण्डे र आङकाजी शेर्पाले विद्युतीय माध्यमबाट आफ्ना नेताहरूको चरित्रहत्या गरेको भन्दै सोमबार युवा संघ र अनेरास्ववियुका नेताहरू साइबर अपराधमा कारबाही गरिपाउँ भनी जाहेरी लिएर टेकु पुगेका थिए ।
महानगरीय प्रहरी परिसर टेकुले यो विषयमा साइबर अपराधभन्दा पनि गाली बेइज्जतीसम्बन्धी ऐन आकर्षित हुने भन्दै उनीहरूलाई सरकारी वकिलमार्फत अदालतमा जान सुझाएको हो ।
युवा संघका केन्द्रीय सदस्य सन्जिवकुमार झा र अनेरास्ववियुका नारायण घर्तीले सामाजिक सञ्जालबाट अफवाह फैलाएर व्यक्तिको चरित्रहत्या गरेकोभन्दै साइबर अपराधमा जाहेरी लिएर गएका थिए ।
उनीहरूसँगै अनेरास्ववियुका संयोजक ऐन महर, युवा संघका सहसंयोजक रमेश पौडेल, किरण पौडेल लगायतका नेताहरू पनि महानगरीय प्रहरी परिसर पुगेका थिए । प्रहरीले साइबर अपराधमा जाहेरी नलिएपछि गाली बेइज्जती मुद्दामा जानेबारे कानुनी परामर्श लिन लागिएको पौडेलले बताए ।
प्रतिक्रिया 4