
१५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितिको सामना गरेर सरकार अघि बढ्ने बताएका छन् । सरकारले कोरोना महामारीको रोकथाममा सफलता पाइरहेका बेला अन्य विषय हुँडल्न खोजिएको प्रधानमन्त्रीको गुनासो छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार आफूलाई भेट्न आएका सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीको एकता र राजनीतिक स्थायित्व कायम राख्न आफू सबैसँग सहमतिका लागि तयार रहेको भन्दै आउने परिस्थितिको सामना गरिने बताएका छन् ।
सरकारले कोभिड १९ महामारी नियन्त्रण, रोकथाममा सफलता प्राप्त गरिरहेका बेला अन्य विषय हुँडल्ने प्रयास भइरहेको प्रधानमन्त्रीको गुनासो रहेको भेटमा सहभागी सांसदले जानकारी दिए ।
प्रधानमन्त्रीलाई भेट्न ओली पक्षका सांसदहरुको समूह बालुवाटार पुगेको छ । सो समूहमा उद्योगमन्त्री लेखराज भट्टसमेत सहभागी रहेको नेकपा स्रोतले जनाएको छ । ओलीलाई आफूहरुको समर्थन रहेको जनाउन सुदूरपश्चिम प्रदेशका मात्रै ११ जना सांसद पुगेका थिए ।
जसमा लेखराज भट्ट, प्रेम आले, नारादमुनि राना, नरबहादुर धामी, गणेशसिंह ठगुन्ना, लालबहादुर थापा, भैरवबहादुर सिंह, निरु पाल, निरा जैरुलगायत सहभागी थिए । त्यस्तै महेश बस्नेत, नवराज शिलवाल, किसान श्रेष्ठलगायत अन्य विभिन्न जिल्लाका सांसदहरुलाई पनि भेला गरेर प्रधानमन्त्रीले पछिल्ला घटनाक्रमबारे जानकारी गराएका छन् ।
प्रधानमन्त्रीले पार्टीले भनेपछि अध्यादेश फिर्ता लिए पनि फेरि अनेक समस्या निम्त्याउन खोजिएकोमा गुनासो गरेको भेटमा सहभागी सांसद प्रेम आलेले बताए । ओलेले भने, ‘सांसदहरुसँग प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नुभएको हो ।
हामीले अध्यादेश फिर्ता लिनु हुँदैनथ्यो भन्ने कुरा पनि राख्यौं । नेकपाको जनमत केपी ओलीका नाममा आएकाले प्रधानमन्त्री हटाउने कुरामा बहुसंख्यक सांसदको विमति छ । हामीले प्रधानमन्त्रीलाई सबै अवस्थाको सामना गर्न सुझाव दिएका छौं ।’
विभिन्न जिल्ला र क्षेत्रका सांसद तथा पार्टी नेताहरुसँग छलफल बालुवाटारमा साँझ अबेरसम्म चलिरहेको थियो । नेकपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले प्रधानमन्त्री र अध्यक्ष नछाडी पार्टीमा एकता कायम गर्न हदैसम्म लचिलो हुन सुझाव दिएको बताए ।
प्रधानमन्त्री ओलीले संसदीय दलमा आफ्नो बहुमत सिद्ध गर्ने प्रयासस्वरुप सांसदहरुसँग भेटघाट तीव्र पारेका हुन् ।
प्रतिक्रिया 4