
१७ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरूले नयाँ शैक्षिक सत्रको लागि भर्ना कार्यक्रम सुरु गरेका छन् । सो गाउँपालिकाका ८ वटै वडाभित्र पर्ने सबै विद्यालयहरूमा आइतबारदेखि भर्ना अभियान सुरु गरिएको हो ।
दुई हप्ताअघि गाउँपालिकाले सबै सामुदायिक विद्यालयले अनलाइनबाटै १ कक्षा देखि ९ कक्षासम्मको परीक्षाफल प्रकाशित गरिसकेका थिए ।
नयाँ शैक्षिक सत्रका लागि सामाजिक सञ्जाल, फोन, म्यासेजबाट नयाँ भर्ना लिन सुरु गरिएकोे गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए । ‘अहिले भर्ना भएका विद्यार्थीहरूलाई वडाध्यक्षको समन्वयमा विद्यार्थीको घरघरमा पुगेर उनीहरूलाई किताब र पोशाक पुर्याउनुपर्ने भएकाले भर्ना अभियान सुरु गरिएको हो,’ उनले भने ।
यसअघि बसेको पाँचपोखरी थाङपाल गाउँपालिका शिक्षा समितिको बैठकमा विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको संक्रमणकालीन समयलाई मध्यनजर गरी सम्बधित वडाको अध्यक्षसँग समन्वय गरी विद्यालयहरूले भर्ना अभियान सुरु गर्ने निर्णय भएको थियो ।
२०७७ को नयाँ शैक्षिक सत्रमा भर्ना गराउन अभिभावक वा सम्बन्धित विद्यार्थीले विद्यालय उपस्थित नभइ सामाजिक सञ्जाल, फोन, म्यासेजबाट भर्नाको लागि विवरण विद्यालयमा टिपाउन सक्ने अध्यक्ष लामाको भनाइ छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्न सामाजिक दुरी कायम गरी नियमित विद्यालय प्रशासन सञ्चालन भइरहेको छ । हाल सो गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय छन् भने झण्डै तीन हजार विद्यार्थी अध्ययनरत छन् ।
एसईई दिने विद्यार्थीलाई अनलाइन कक्षाको व्यवस्था
पाँचपोखरी थाङपाल गाउँपालिकाले एसईई दिने तयारी गरिरहेका विद्यार्थीहरूलाई अनलाइन माध्यमबाट पढाउने तयारी गरिरहेको छ । गाउँपालिकामा एसईई दिने दुई सय ३० जना विद्यार्थीलाई अनलाइन माध्यमबाट कक्षा लिन लागिएको गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिए ।
कोरोनाको त्रासका कारण एसईई परीक्षा रोकिँदा विद्यार्थीहरू समस्यामा परेकाले अनलाइनबाट पढाइको तयारी थालिएको हो । त्यसका लागि प्रत्येक वडाका वडाध्यक्षलाई एसईई दिने विद्यार्थीको अवस्था बुझ्न घरघर पठाइएको अध्यक्ष लामाले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र विभिन्न वडाका वडाध्यक्ष, विद्यार्थीहरू कहाँ, कसरी बसिरहेका छन् भनेर अनुगमनका लागि खटिएका गाउँपालिका अध्यक्ष लामाले बताए ।
प्रतिक्रिया 4