
१७ वैशाख, वीरगञ्ज । बुधबार एकैदिन तीनजनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमितहरू जीतपुर सिमरा उपमहानगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढ नगरपालिकाका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।
तथ्यांकमा काेराेना - नेपाल
आइतबार वीरगञ्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूमध्ये वीरगञ्ज-१६ का एक जना दिल्लीको धार्मिक सभामा सहभागी भएका थिए ।
उनीहरूको प्रत्यक्ष सम्पर्कमा रहेकाहरूलाई खोजी गर्ने क्रममा छपकैयाका ४६ वर्षीय पुरुषलाई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो ।
उनको पनि रिपोर्ट पोजेटिभ भएको आएको छ ।
यस्तै, बाराका संक्रमित पनि जमातीको सम्पर्कका आएकाहरूको खोजी गर्ने क्रममा परीक्षणको दायरामा आएका थिए । उनीहरू ६ मार्चमा दिल्ली गएर ११ मार्चमा नेपाल फर्किएका थिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया 4