+
+

किसानबाट मार्फाली साग किनेर पोखरामा निःशुल्क वितरण

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १८ गते १२:५६

१८ वैशाख, पोखरा । लकडाउनका कारण कृषकहरुको उब्जनी बिक्री नभएको भन्दै गुनासो आइरहेको छ । बिक्री नभएपछि कतै कुहिएर जान थालेको त कतै बारीमै सुक्न थालेको उनीहरु बताउँदै आएका छन् । लम्बिँदै गएको लकडाउनले मुस्ताङका किसान पनि अछुतो रहन सकेका छैनन् ।

मुस्ताङमा अहिले ‘मार्फाली साग’को सिजन छ । लकडाउन नभएको भए मुस्ताङबाट पोखरा, चितवन, काठमाडौं लगायतका जिल्लामा मार्फाली साग बिक्री भइरहेको हुन्थ्यो । तर, लकडाउनले गर्दा उनीहरुले आफ्नो साग बजारमा बिक्री गर्न सकिरहेका छैनन् ।

बिक्रीका लागि तयार भइसकेको मार्फाली साग बारीमै खेर जान थालेपछि मुस्ताङ क्षेत्र नं. १ (ख) का सांसद इन्द्रधारा विष्टले किसानको बारीबाटै साग किनेर पोखरामा निःशुल्क बाँड्न थालेका छन् । उनले पोखराका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरुलाई ५ हजार किलो तरकारी निःशुल्क बाँड्ने बताएका छन् ।

‘किसानको बारीमै साग कुहिन लाग्यो । एक त उनीहरुको आम्दानीको बाटो नै बन्द भयो,’ सांसद विष्टले भने, ‘आफैं किनेर कोरोनाविरुद्ध अग्रमोर्चामा खटिने सबैलाई बाँडेमा दुवैलाई राहत हुने देखें ।’ उनले किसानबाट प्रतिकिलो ३० रुपैयाँका दरले साग खरिद गरेर निःशुल्क बाँडिरहेको बताए ।

सांसद विष्टले अहिलेसम्म ३ हजार किलो साग बाँडिसकेको बताए । ‘एकचोटीमा १ हजार किलो साग लिएर आउँछौं । त्यसो हुँदा साग पनि ताजा हुने र किसानलाई पनि सजिलो हुन्छ,’ उनले भने । उनले बाँकी २ हजार किलो पनि पोखरा ल्याउनलाई तयारी अवस्थामा रहेको जानकारी दिए ।

घरपजोङ गाउँपालिकाको मार्फा क्षेत्रका करिब ५० जना किसानको बारीबाट उनले साग खरिद गरेको बताएका छन् । साग पोखरासम्म ल्याउन उपल्लो मुस्ताङका २ जना स्थानीय ट्रक व्यवसायीले निःशुल्क ढुवानी गरेर सहयोग गरिरहेको सांसद विष्टले सुनाए । ‘मेरो ३ महिनाको तलबले किसानको तरकारी खरिद गर्ने निर्णय गरेको छु । करिब डेढ लाख रुपैयाँ बराबरको साग किनेर पोखरामा बाँड्ने योजना हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?