
१४ जेठ, काठमाडौं । मोरङको विराटनगरमा भारतको जोगबनी नाका हुँदै ३ सय ४ जना नेपालीहरु भित्रिएका छन् । उनीहरुलाई गएराति उद्धार गरिएको मोरङ प्रहरीले जनाएको छ ।
भारतबाट आएकाहरुलाई विराटनगर–१३ स्थित डीएभी स्कुलको होल्डिङ स्टेसनमा राखिएको छ ।
नेपाल प्रवेश गर्नेहरुमा झापादेखि रुकुम पश्चिमसम्मका छन् । रुकुम पश्चिमका ८ जना छन् । सुनसरीका २३ जनालाई भने दुहबी नगरपालिका वडा नं. ४ का वडा अध्यक्षले सुनसरीतर्फ लगेको मोरङ प्रहरीले जनाएको छ ।
सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारतीय सुरक्षा निकायसँगको समन्वयमा नेपाल ल्याइएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए । सम्पूर्ण विवरण टिपेर सामान्य स्वास्थ्य जाँचपछि उनीहरुलाई सम्बन्धित स्थानीय तहहरुमा पठाइने भुजेलले बताए । स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा कोरोना जाँच गरेपछि मात्र उनीहरुलाई घर जान दिइने भुजेलले बताए ।
मंगलबार नेपाल प्रवेश गर्नेहरुलाई स्वागत गर्न प्रजिअ भुजेलसँगै सुरक्षा निकायका प्रमुख र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि जोगबनी सीमासम्म पुगेका थिए ।
प्रतिक्रिया 4