
१४ जेठ, कैलाली । ८ जेठमा कैलालीको गौरीफन्टा नाकाबाट २४ सय ९८ जनाको उद्धार भयो । मंगलबारसम्म त्यहि भीडमा रहेका ६ जनामा कोरोना संक्रणको पुष्टि भइसकेको छ ।
मंगलबार अछामको मेल्लेख गाउँपालिकाकी ११ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएसँगै एकै दिन, एउटै नाकाबाट आएका ६ जनामा संक्रमण पुष्टि भएको हो ।
यसअघि जेठ १० गते बैतडीको शिवनाथ गाउँपालिकाका ४ जना र जेठ ११ गते अछामको मेल्लेख गाउँपालिकाका १ जनामा संक्रमण देखिएको थियो । उनीहरु सबै ८ गते गौरीफन्टा नाकाबाट नेपाल आएका हुन् ।
८ गते नेपाल आएकामध्ये १९ जनालाई सिमानाबाटै उद्धार गरेर सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । ती १९ जनामध्ये ६ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।
‘त्यो भीडमा रहेका केहीको आरडीटी परीक्षणमा पनि पोजेटिभ आएको थियोे । केहीको भने कोरोनासँग लक्षण मिलेपछि यहाँ ल्याइएको हो,’ श्रेष्ठले भने, ‘१९ जनामध्ये ६ जनामा संक्रमण पुष्टि भयो । अरु डिस्चार्ज भए ।’
बाबु-छोरी नै संक्रमित
दुई दिनको अन्तरालमा सुदूरपश्चिम प्रदेशमा एउटै घरका बाबु-छोरी नै संक्रमित भएको पुष्टि भएको छ । कैलालीको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार अछामको मेल्लेख गाउँपालिकाकी ११ वषर्ीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
आइतबार उनका बुवामा पनि कोरोना संक्रमण पुष्टि भयो । जेठ ८ गते उनीहरु दुवै जना कैलालीको गौरिफन्टा नाकाबाट आएका थिए ।
कहाँ छन् २४९२ जना ?
८ गते नेपाल भित्रिएकामध्ये ६ जनामा संक्रमण देखिएपछि प्रहरीले उनीहरुसँग आएकाहरुको खोजी कार्य सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले त्यो दिन नेपाल आएकाहरुलाई विशेष निगरानीमा राखिएको बताए ।
उनीहरु सबै सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा रहेको उनको दाबी छ । ‘उनीहरु सबै क्वारेन्टाइनमा छन् । उनीहरुको पहिचान गरी परीक्षण गर्ने काम हुन्छ,’ उनले भने, ‘अहिले क्वारेन्टाइनभन्दा बाहिर कोहि छैनन् ।’
८ गते गौरिफन्टा नाकाबाट आएका सबैको परीक्षण आवश्यक रहेको सूदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले किट अभावका कारण ठूलो संख्यामा परीक्षण हुन नसकेको भन्दै अब त्यस्तो नहुने बताए । खड्काले केही आरडीटी किट प्रदेशमा आइसकेको भन्दै त्यसलाई क्वारेन्टाइनमा रहेकाहरुको परीक्षणमा प्रयोग गरिने बताए ।
‘अहिलेसम्म नेपाल भित्रिएकाहरु सबै क्वारेन्टाइनमा छन् उनीहरु सबैको स्वास्थ्य परीक्षण हुन्छ,’ उनले भने ।
सोमबार मात्रै काठमाडौँबाट ४ हजार आरडीटी किट आएको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले बताए । काठमाडौंबाट आएका किटहरु सबै जिल्लामा पठाइसकेको उनले बताए ।
‘हामीले सबै जिल्लामा किट पठाइसकेका छौं,’ उनले भने, ‘अब क्वारेन्इनमा रहेकाहरुको परीक्षण हुन्छ ।’
प्रतिक्रिया 4