
२४ वैशाख, काठमाडौं । खेती लगाउने बेला किसानले मल र बीउको अभाव खेप्नु नेपालमा एउटा परम्परा जस्तै भईसकेको छ । यस वर्ष पनि पहाड र तराईमा खेतिको सिजन सुरु भएको छ । सरकारी र नीजि गोदाममा मल र बीउ तत्कालकालागि पुग्दो मात्रामा रहेको सरकारी कम्पनीको दाबी छ ।
सरकारी कम्पनीहरुसँग झण्डै एक महिनालाई पुग्ने मल मौज्दात छ । लकडाउनले एकातर्फ भण्डारणको मल किसानसम्म पुग्न सकेको छैन भने खरिद सम्झौता भएका मल पनि भारतको बन्दरगाहमा अलपत्र परेको छ ।
पहाडमा मकै र तराईमा चैते धान तथा उखु गोड्ने बेला भएकाले मल तत्काल चाहिएको राष्ट्रिय कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारी बताउँछन् । ‘यूरिया मल तत्काल चाहिएको छ, तर देशभर आपूर्ति समस्या छ’, उनी भन्छन्, ‘सहकारी वा डिपोमा जाँदा हाकिमले मल पाईन्छ भन्छन्, पाइएको अवस्था भने छैन ।’
बीउबिजनको उपलब्धताको अवस्था
बीउ व्यवसायी संघका अध्यक्ष लक्ष्मीकान्त ढकाल लकडाउनमा कृषि उत्पादन र बजारीकरण नरोक्ने नीति भए पनि केन्द्र र प्रदेश तथा स्थानीय प्रसाशनको तालमेल नमिल्दा समस्या देखिएको बताउँछन् । ‘किसानले उत्पादन गरेको बिउ एग्रोभेटसम्म पुर्याउन पनि समस्या छ’, उनी भन्छन् ।
अहिले किसानलाई आवश्यक परेको बेला लकडाउनले गर्दा विदेशीको बिउको आयात नै रोकिएको उनले बताए ।
बीउ आयात तथा उत्पानकालागि मुलुकभर ४० वटा कम्पनी कृषि मन्त्रालय अन्र्तगतको बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रमा दर्ता छन् । तिमध्ये करिब ३५ कम्पनीले बीउ उत्पादन गर्छन् भने बाँकीले विदेशबाट आयात गर्ने गरेका छन् । मुख्यतः धान, मकै र तरकारीकोे हाईबि्रड बीउ नेपालमा आयात हुने गरेको छ ।
मुलुकभर १५ लाख हेक्टर खेतीका लागि चाहिने १५ हजार टन धानको बीउमध्ये अहिले १४ हजार टन बीउ उपलब्ध रहेको केन्द्रले जनाएको छ । यसमध्ये १३ हजार टन स्वदेशी उत्पादन हो भने बाँकी आयातित ।
मलको उपलब्धता
सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयकालागि छुट्याउने बजेटको झण्डै एक तिहाइ बजेट मल खरिदमा खर्च हुन्छ । चालू आर्थिक वर्षमा सरकारले रासायनिक मल खरिदका लागि साढे नौ अर्ब रुपैंया छुट्याएको थियो ।
नेपालमा वाषिर्क झण्डै छ लाख टन रासायनिक मल खपत हुन्छ । सरकारले युरिया मल खरिदमा ६९ प्रतिशत अनुदान दिने गरेको छ । अनुदानको मल कृषि सामग्री कम्पनी लिमिटेडले खरिद गरेर साल्ट ट्रेडिङ, कृषि सहकारी र डिलर सहकारीमार्फत बिक्री हुने गरेको छ ।
अहिलेलाई पर्याप्त मात्रामा मल मौज्दात रहेको कृषि सामग्री कम्पनी र साल्टट्रेडिङले जनाएका छन् । कृषि सामग्री कम्पनीसंग युरिया २१ हजार मेटि्रक टन, डीएपी २४ हजारमेट र पोटास ४७ सय मेट मौज्दात छ । कम्पनीका सूचना अधिकारी विष्णु पोख्रेलका अनुसार, २४ हजार टन डिएपी कलकता आइपुगेको छ भने थप ५० हजार मेट यूरिया खरिदको टेण्डर प्रक्रिया अगाडी बढेको छ ।
साल्ट ट्रेडिङसँग पनि ३६ हजार टन मल मौज्दात छ । कम्पनीका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार, १६ हजार टन युरिया, १८ हजार टन डीएपी र दुई हजार टन पोटास मौज्दात छ । साढे २१ हजार टन युरिया कोलकाताबाट नेपाल आउने क्रममा रहेको उनले बताए ।
कृषि सामाग्री कम्पनी र साल्टट्रेडिङसंग भएको मल तत्कालका लागि बाँडीचुँडी पुर्याउनु पर्ने सूचना अधिकारी राजभण्डारीले बताए । सरकारले यथेष्ट बजेट दिए पनि कोरोनाकाकारण आपूर्ति व्यवस्था प्रभावित हुँदा समस्या आएको उनले बताए ।
प्रतिक्रिया 4