
१५ जेठ, काठमाडौं । कोरोना संक्रमित व्यक्तिको उपचारको क्रममा मृत्यु भएपछि पनि ललितपुरको किस्ट मेडिकल कलेजले अस्पतालको सेवा बन्द नगरी सञ्चालन गरेको छ । मेडिकल कलेजले केही समय अस्पतालको बहिरंग सेवा बन्द गरे पनि अरु सेवा रोकिएको छैन ।
कोरोना संक्रमितको उपचार विश्व स्वास्थ्य संगठनको नियम अनुसार नै गरेको र मृत्युपछि पनि नियमअनुसार नै व्यवस्थापन गरेकाले अस्पतालको सेवा बन्द गर्नुनपरेको अस्पतालले जनाएको छ ।
अस्पतालको मेडिकल आईसीयू, फिभर क्लिनिक र आइसोलेटेड इमर्जेन्सी वार्ड डिसइन्फेक्सन गर्ने काम भइरहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकले बताए ।
‘अरु सेवा सञ्चालनमा छ, अहिले केही क्षणको लागि ओपिडी होल्ड भएको मात्रै हो’ पाठकले भने, ‘स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको टोलीले जारी गरेको प्रोटोकल फलो गरेका कारण हाम्रो सेवा अवरुद्ध गर्नु नपरेको हो ।’
अहिले आशिंक सेवा दिइरहेको बताउँदै पाठकले भने, ‘४ बजेपछि सबै सेवा सञ्चालन हुनेछ ।’ अस्पतालले चिकित्सक, नर्स, प्यारामेडिक्स र अन्य गरी ३१ जनालाई क्वारेन्टिनमा राखेको छ ।
अस्पतालले ११ देखि १४ जेठसम्म उपचार गरिएका ती व्यक्तिको सम्पर्कमा रहेका अस्पतालका चिकित्सक, नर्स तथा अन्य गरी ३१ जनालाई क्वारेन्टिनमा राखेको हो ।
अस्पतालका अनुसार ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै ललितपुर बुङ्मतीका एक जना पुरुषलाई पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो । ती व्यक्तिको किस्ट अस्पतालमै बुधबार दिउँसो चार बजे मृत्यु भएको थियो ।
प्रतिक्रिया 4