
१५ जेठ, काठमाडौं । सरकारले अस्थायी र करार लगायत सबै राष्ट्रसेवक कर्मचारीहरुको कोरोना बीमा निःशुल्क गरिदिने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/0७८ का लागि बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँसम्मको कोरोना बीमा निःशुल्क गरिदिने जानकारी दिए ।
सामान्यतयाः युद्ध र महामारीको बीमा नहुने विश्वव्यापी चलन छ । यद्यपि, बीमा समितिले नयाँ अभ्यास गर्दै नयाँ नीति जारी गरेको थियो ।
समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बीमा गर्न सकिने व्यवस्था बनाएको छ ।
परिवारकै बीमा गर्ने हो भने एक लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नु पर्नेछ ।
बीमाको अवधि एक वर्ष हुनेछ । बीमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजेटिभ देखिएको अवस्थामा एक लाखको गरे एक लाख र ५० हजारको गरे ५० हजार रुपैयाँ बीमा दाबी भुक्तानी हुनेछ ।
राष्ट्रसेवक कर्मचारीलाई निजी आवास निर्माण र उनीहरुका सन्ततीलाई उच्च शिक्षा अध्ययन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्था समेत मिलाइएको छ ।
सार्वजनिक निकायमा कार्यरत सबै अस्थायी र करार कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउन सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने व्यवस्था मिलाइएको अर्थमन्त्री खतिवडाले बताए ।
प्रतिक्रिया 4