
१५ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी आर्थिक वर्षका लागि लिएको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य महत्वाकांक्षी भएको बताएका छन्।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरिने बताएका थिए । पूर्वअर्थमन्त्री पाण्डेले कोरोना महामारी अझै केही समय रहने भन्दै यो महत्वाकांक्षी हुने बताए ।
राजस्व कम उठ्न सक्ने तथा वैदेशिक सहायता कम आउने भनेर अपेक्षा गर्नु भने ठिक भएको उनले बताए। तर, वैदेशिक ऋण दुई खर्ब ९९ अर्ब अपेक्षा गरेको भन्दै त्यो परिपूर्ति हुन गाह्रो रहेको उनले बताए ।
आन्तरिक ऋण दुई खर्ब २५ अर्ब रुपैयाँ उठाएर चालु खर्चमा खर्च गर्न नपाउने भनिएको भन्दै यसलाई पनि आफूले सकारात्मक लिएको बताए।
उनले भने, ‘आन्तरिक ऋण उठाएर पुँजीगत खर्चमा मात्रै लगाउने भनेको छ त्यो धेरै राम्रो हो। यसपालि आन्तरिक ऋण उठाएर तलब भत्ता खुवाउनु परेको थियो। यसपालि सरकार सचेत भयो राम्रै भयो ।’
समग्रमा बजेट राम्रै भए पनि कार्यान्वयमा भने चुनौती नै रहेको उनले बताए ।
प्रतिक्रिया 4