
१५ जेठ, जनकपुरधाम । धनुषामा बालबालिकालाई भेला पारेर पाठ्यपुस्तक वितरण गर्ने क्रम रोकिएको छैन । जिल्लाको शहीद नगरपालिकामा बालबालिकाको भेला पारेरै पाठ्यपुस्तक वितरण गरिँदै आएको छ ।
पछिल्लो पटक यो नगरपालिकाभित्रको एसएनआर जनता माध्यमिक विद्यालयले बालबालिका भेलापारी पाठ्यपुस्तक वितरण गरेका छन् । वडा नम्बर ७ धबौलीको यो विद्यालयले झण्डै दुई सयभन्दा बढी बालबालिकालाई भेला पारेर शिक्षकले पाठ्यपुस्तक वितरण गरेका छन् ।
कोरोना संक्रमणबाट जोगिन जारी लकडाउनको उल्लङ्घन गर्दै बालबालिकाको भेला पारिएको हो । पाठ्यपुस्तक वितरणमा खटिएका शिक्षक रबीन गोहीबार यादवले प्रधानाध्यापकको निर्देशनमा बालबालिका भेला पारिएको बताए । उनले भेला पारिए पनि दुरी कायम गर्न धेरै प्रयास गरेपनि बालबालिकाले नै नमानेको बताए ।
प्रदेश २ मै कोरोना संक्रमित दिन प्रतिदिन बढ्दै गए पनि शिक्षक नै सचेत भएका छैनन् ।
बालबालिकासँग रकम असुली
यस विद्यालयले लकडाउनको उल्लङ्घन मात्रै गरेका छैनन् । बालबालिकासँग पाठ्यपुस्तकको नाममा रकमसमेत असुली गरेका छन्। पाठ्यपुस्तक लिन गएका कक्षा ९ का छात्र पप्पु यादवले आफूसँग ४ सय ८० रुपैयाँ लिएको बताए ।
कक्षा ८ मा अध्ययनरत नगिसा यादवले पाठ्यपुस्तक पाए बापत ४ सय २० रुपैयाँ तिर्नुपरेको बताइन् । रकम नदिने बालबालिकालाई भने विद्यालयले पाठ्यपुस्तक उपलब्ध गराएको छैन।
रकम लिएको पाएपछि केही अभिभावकले विद्यालयमा ताला लगाएका छन् । वडा सदस्य रासेन्द्र यादवले पाठ्यपुस्तक बापतको रकम लिने कुनै पनि निर्णय नभएको बताए । उनले व्यवस्थापन समितिले समेत त्यस्तो कुनै निर्णय नगरेको बताए ।
विद्यालयले रकम लिएकाे सम्बन्धमा जानकारी लिन प्रधानाध्यापक श्रीप्रसाद गोहीबारसँग बारम्बार टेलिफोन गर्दा समेत उनले फोन उठाएनन् ।
प्रतिक्रिया 4