+
+

प्रहरीकै भवन बनाउन अवैध काठको प्रयोग !

विकास मरहट्टा विकास मरहट्टा
२०७७ जेठ १६ गते १३:४५

१६ जेठ, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाको भवन निर्माणका लागि ल्याइदै गरेको अवैध काठ डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ ।

टाँचा निसाना नलागेको र ओसारपसार इजाजत (छोडपुर्जी) विना ल्याइएको उक्त काठ भीमसेन थापा गाउँपालिका–८ अमला भञ्ज्याङबाट नियन्त्रणमा लिइएको हो ।

सालको ९ थान (३.७५ क्यू फिट) र बरको ३२७ थान (८८.८८ क्यू फिट) चिरान काठ नियन्त्रणमा लिइएको डिभिजन वन अधिकृत तोयानाथ पौड्यालले बताए । उनका अनुसार अवैध काठ ओसार पसारमा संलग्न पाँच जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।

काठ ओसारपसारमा प्रयोग भएका ग १ त ३८७३ र ग १ त ६२२८ नम्बरको दुई वटा ट्याक्टर नियन्त्रणमा छन् । पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–८ का सवारी धनी सरोज श्रेष्ठ, सोही ठाउँका सवारी चालक रमेश कुमाल, सहचालक नवराज परियार र दीपेन्द्र कुमाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय भवन निर्माणको जिम्मा पाएको रोयल कन्स्ट्रक्सन प्रालिका हरि विष्टलाई पनि पक्राउ गरिएको पौड्यालले बताए । ‘चार जनालाई त्यही दिन पक्राउ गरेर ल्यायौ,’ पौड्यालले भने, ‘अनुसन्धान गर्दै जाँदा प्रहरीको भवन निर्माणका लागि काठ ल्याएको भन्ने खुलेपछि विष्टलाई बिहीबार पक्राउ गरेर अनुसन्धान थालेका हौं ।’

कैलालीको धनगढी उपमहानगरपालिका–८ बस्ने विष्टले अनुसन्धानको क्रममा प्रहरीको भवन निर्माणका लागि काठ ल्याएको स्वीकार गरेका छन् ।

अवैध काठ ओसारपसार गरिरहेको सूचना स्थानीय समुदायबाट प्राप्त भएपछि कार्यालयको कर्मचारी टोली सो ठाउँमा पुगेर काठ नियन्त्रणमा लिएको हो । उक्त काठ भीमसेनथापा गाउँपालिका–८ महादेवटारबाट ल्याइएको बताइएको छ ।

प्रहरीको भवन निर्माणका लागि भन्दै यस अघि पनि पटक पटक अवैध रुपमा काठ लाने गरेको स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको अनुसन्धान अधिकृत बालकुमार नेपालीले बताए ।

कुल ८ करोड १ लाखको लागतमा प्रहरी कार्यालयको भवन निर्माणको काम भइरहेको छ । प्रहरीकै भवन निर्माणका लागि अवैध काठ ल्याएको भन्दै सरकारवालाले विरोध जनाएका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीले भने उक्त काठ कार्यालयका लागि ल्याउदै गरेको थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

‘अवैध काठ ओसारपसार गरेको भन्दै स्थानीयले नियन्त्रणमा लिएर हामीलाई खवर गर्नुभयो, हाम्रो टोलीले समातेर वन कार्यालयलाई बुझायो, प्रहरीकै भवन बनाउन ल्याएको भन्ने कुरा मलाई थाहा थिएन,’ उनले भने ।

काठ आपूर्तिको ठेक्का लिएकाले कहाँबाट काठ ल्याउँछन् भन्ने आफूहरुलाई थाहा नभएको भन्दै एसपी अधिकारीले थाहा पाएपछि कारबाही अघि बढाएको बताए ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?