
१७ जेठ, काठमाडौँ । नेपालमा सलहको सम्भावित प्रवेश रोक्न पूर्वतयारी चलिरहेका बेला बर्दियाका कृषकलाई भने फट्यांग्राले दुःख दिएको छ । जिल्लाको मधुवन नगरपालिकाका विभिन्न वडाहरुमा फट्यांग्राले बालीनाली सखाप बनाएको कृषकहरुले बताएका छन् ।
मकै, धानको बीउ तथा जुनसुकै खाले हरियो बनस्पतिमा फट्यांग्राको झुण्ड बसेर नष्ट पारिदिएको नगरपालिकाको ४ नम्बर वडाका अध्यक्ष बिन्तिराम थारुले जानकारी दिए ।
‘यी फट्यांग्रा पहिले कतै देखेका थिएनौँ, एक-डेढ महिना भयो नगरपालिकाको विभिन्न वडामा भेटिएका छन्,’ बिन्तिरामले फोनमा भने । आफ्नै वडाका स्थानीयले लगाएको मकैमा सबै पातहरु खाईदिएर घोगा र डाँठ मात्रै बाँकी राखेको उनले बताए । नगरपालिकाको माचर, मधुवन, बाँधर भरीया र बसन्ता लगायतका गाउँमा फट्यांग्राले आतंक मच्चाएको उनको भनाइ छ । केही किसानले फट्यांग्रा मार्न विषादी प्रयागे गरे पनि सफल नभएको उनी बताउँछन् ।
‘विषादी हालेपछि मर्दैन, बरु उडेर भाग्छ । विषादीको गन्ध उडेपछि फेरि त्यहीँ आएर बस्छन्,’ वडा अध्यक्ष बिन्तिरामले भने ।
मधुवन नगरपालिकाका मेयर गणेशबहादुर क्षेत्रीले खेतीपातीको हरियाली नास गर्ने फट्यांग्राहरु भेटिएको गाउँलेबाट आफूले थाहा पाएको बताए ।
‘बाली सखाप पार्यो भनेर गुनासो आएका छन्, मैले नगरको कृषि प्राविधिकलाई बुझ्न पठाएको छु,’ मेयर क्षेत्रीले भने ।
धानको ब्याड राख्ने समयमा फट्याङ्ग्राले बीउमा ठूलो हानी पुर्याएको कृषि ज्ञान केन्द्र गुलरियाले जनाएको छ । केन्द्रका कृषि प्रसार अधिकृत ओम प्रकाश शर्माले भने, ‘यो सलह हो कि भनेर मानिसहरु डराएका छन्, तर फट्यांग्रा हो । लकडाउनका कारण हामीले नियन्त्रणका लागि काम गर्न सकेका छैनौँ,’ शर्माले भने ।
प्रतिक्रिया 4