+
+

पाचन प्रणाली बलियो बनाउने सरल विधि

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३० गते १५:०३

धेरै जसोले भोग्ने समस्या हो, पेट वा पाचनसम्बन्धी गडबडी। खानपान नमिलेर वा अन्य कारणले पेटमा समस्या निम्त्याउँछ। जब पाचनतन्त्र खराब हुन्छ, समग्र शरीरमै त्यसको असर पर्छ।

हामीले खाएका जति पनि खानेकुरा छन्, त्यसलाई पचाएर आवश्यक पोषक तत्व शरीरले ग्रहण गर्छ । यद्यपि पाचनतन्त्र नै खराब छ भने खानेकुराबाट पोषक तत्व शरीरले प्राप्त गर्न सक्दैन । यसले शरीरमा अनेकन रोग निम्त्याउँछ । त्यसैले स्वस्थ शरीरका लागि पाचनयन्त्र चुस्त तन्दुरुस्त हुनैपर्छ । यसका लागि केही सामान्य विधि अपनाए पुग्छ।

आयुर्वेदमा पाचन प्रणालीलाई अग्नी समान मानिन्छ। पाचन प्रणालीलाई शरीरको उर्जा स्रोत मानिन्छ । शरीरमा उत्पादित हरेक शक्तिको सुरुवात पाचन प्रणालीबाट नै हुन्छ ।

ताजा र सुपाच्य खानेकुरा

हामीले जस्तो खानेकुरा खान्छौं, शरीर पनि त्यहीअनुसारको हुने हो । दूषित, बासी वा तामासी खानेकुरा सेवन गर्दा शरीर जीर्ण र रोगी हुन्छ । यदि ताजा, सुपाच्य अर्थात् स्वस्थ्यकर र पोषिलो खानेकुरा सेवन गरियो भने शरीर बलियो, निरोगी, उर्जावान् हुन्छ । खासगरी पाचनतन्त्रलाई बलियो बनाउनका लागि ताजा, सहजै पच्ने, मौसम अनुकूलको खानेकुरा सेवन गर्नुपर्छ । सागसब्जी, फलफूल, सलाद र पानीलाई आफ्नो नियमित खानामा समावेश गर्नुपर्छ ।

खाना खाँदा भरपुर आनन्द लिने

जब तपाईं खाना खानुहुन्छ, त्यसको भरपुर आनन्द लिनुहोस् । आयुर्वेदका अनुसार शारीरिक स्वस्थ्यका लागि मनबाटै भोजन गर्नुपर्छ । खाना खाएको बेला आरामसँग बस्नुहोस् । सही मुद्रामा बस्नुहोस् । यसले तपाईंको पाचन यन्त्रले ठिक ढंगले काम गर्छ।

खाने समय तालिका निश्चित गरौं

कहिलेकाहीँ हामी काम गर्दै यति धेरै खानेकुरा खान्छौं कि जसलाई पचाउन गाह्रो हुन्छ । चाहे टेलिभिजन हेरिहेको बेला होस् वा कसैसँग भलाकुसारी हामी खाइरहन रुचाउँछौं । यसरी एकै स्थानमा बसेर लामो समयसम्म खाना खानु हानिकारक हुन सक्छ । त्यसैले खाने तालिकाअनुसार ठिक-ठिक समयमा मात्र खाने गरौं । जति पनि बेला खाइरहने बानीले पाचनयन्त्रमा असर गर्छ । खाने समय निर्धारण गरौं ।

नियमित दैनिकी

आयुर्वेदका अनुसार पाचन क्रिया दुरुस्त राख्नका लागि सही र नियमित दिनचर्या पालना गर्नुपर्छ । बिहान नास्ता, मध्याह्न भोजन र राति भोजन सही समयमा गर्नुपर्छ । रातिको भोजन गरिसकेपछि तुरुन्तै सुत्नुहुँदैन । राति हल्का भोजन गर्नुहोस् । बिहान पौष्टिक खानेकुरा लिनुहोस् ।

शारीरिक श्रम एवं व्यायाम

पाचनयन्त्रलाई बलियो बनाउनका लागि शारीरिक श्रम आवश्यक हुन्छ । केही न केही काम गरौं । सम्भव भएसम्म पसिना निस्कने गरी काम गरौं । नियमित व्यायाम गरौं । समुचित श्रम र व्यायामले पाचन यन्त्रलाई बलियो बनाउन मद्दत गर्छ ।

निस्क्रिय बस्ने वा कुनै पनि श्रम नगर्ने व्यक्तिको पाचनयन्त्र कमजोर हुन्छ ।

खराब खानपान त्यागौं

अहिले बजारमा मीठोमसिनो र सजिलै उपलब्ध हुने खानेकुरा छन् ।  त्यस्ता खानेकुराले पाचनयन्त्रलाई खराब गर्छ । जस्तो प्रशोधित खानेकुरा, मैदाजन्य खानेकुरा, चाउचाउ, चिप्सजस्ता जंकफुड, कोल्ड ड‍्रिङ्क, मदिरा, तारेको, भुटेको आदि खानेकुरा त्यागौं ।

बिहान उठ्नसाथ मनतातो पानी

पाचनयन्त्रलाई बलियो बनाउने एउटा राम्रो काइदा हो, बिहान उठ्नसाथ मनतातो पानी पिउने । अन्य खानेकुरा सेवन गर्नुअघि वा व्यायाम गर्नुअघि मनतातो पानी पिउनुपर्छ । यसले पाचनयन्त्रलाई चुस्त राख्छ ।

खानेकुराको गुणस्तर ख्याल गरौं

हामीले जे खान्छौं, त्यसैबाट हाम्रो शरीर निर्माण हुने हो ।  त्यसैले कस्तो खानाले शरीरमा कस्तो प्रभाव पार्छ भन्ने ख्याल राखेर खानेकुराको छनौट गरौं । मौसम अनुकूल खाना कुन हो ? कुन खानेकुरामा कस्तो पोषक तत्व पाइन्छ ? कसरी पकाएर खाएमा पोषक तत्व नष्ट हुँदैन भन्ने कुराको ख्याल राखौं ।

तनाव र चिन्ता नलिने

हामीलाई विभिन्न कारणले तनाव वा चिन्ता हुन सक्छ । तर तनाव वा चिन्ता लिँदैमा कुनै पनि कुराको हल हुने होइन, समाधान हुने होइन । त्यसैले तनाव लिएर आफ्नै शरीरलाई हानि गर्नुको अर्थ छैन । तनावले पाचनयन्त्रमा समेत नकारात्मक असर पार्छ । त्यसैले तनाव व्यवस्थापन गरौं । योग, प्राणायाम जस्तो विधि अपनाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?