+
+

सिन्धुलीमा आकस्मिक कक्षमा उपचाररत महिलाको मृत्यु, रिपोर्ट आउन बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १२ गते १५:०६

१२ असार, काठमाडौं । सिन्धुली अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

महोत्तरीको बर्दिवास–३ घर भएकी २१ वर्षीया महिलाको उपचारका क्रममा बिहीबार राति ८ः३० बजे मृत्यु भएको अस्पतालका मेसु डा. लक्ष्मण खड्काले जानकारी दिए । अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उनी बिहीबार दिउँसो अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् ।

डा. खड्काले भने, ‘इमर्जेन्सी कक्षमा राखेर उपचार गर्दैगर्दा उनको बिहीबार राति मृत्यु भयो । उनको शरीरमा हेमोग्लोविनको मात्रा पनि कम थियो । फोक्सोमा पानी पनि जमेको थियो । उपचारका लागि अस्पताल ल्याउन ढिलाइ हुँदा उनलाई बचाउन सकिएन ।’

‘उनी १० दिनअघि मात्रै बर्दिवासबाट सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ माइती घरमा आएर बसेकी रहेछिन्,’ उनले भने, ‘ज्वरो आएको पनि तीनचार दिनभन्दा बढी भइसकेको रहेछ । घरमै जडिबुटीको भर परेर बसेका रहेछन् ।’

मृत्यु भएकी महिलामा कोरोना संक्रमणको लक्षण देखिएकाले शुक्रबार बिहानै उनको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको उनले बताए ।

रिपोर्ट नआउँदै अन्त्येष्टि

अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेलका अनुसार मृतक महिलाको अन्त्येष्टि कमलामाई नगरपालिकाको गड्यौली दोभानमा शुक्रबार बिहान गरिएको हो । स्वास्थ्य सुरक्षा अपनाएर मृतकका आफन्तहरुले नै शवको अन्त्येष्टि गरेको अध्यक्ष पोखरेलको भनाइ छ ।

अध्यक्ष पोखरेलले भने, ‘शव व्यवस्थापन गर्ने स्थानसम्म अस्पतालले शव वाहन उपलब्ध गराएको थियो । पीपीई लगायतको स्वास्थ्य सुरक्षा अपनाएर नै उनीहरुले शवको व्यवस्थापन गरेका छन् । शव व्यवस्थापनमा मृतकका चार जना आफन्त मात्रै सहभागी भएका थिए ।’

‘मृतक महिलामा ज्वरो र श्वासप्रश्वासको समस्या देखिएका कारण कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशाला पठाएका हौं,’ उनले भने, ‘रिपोर्ट नआउन्जेल उनको सम्पर्कमा रहेका आफन्तहरुलाई होम क्वारेन्टिनमा बस्न भनेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?