+
+

नेकपा बैठकमा बामदेवको माग : मलाई कारबाही गरेर गल्ती गरेको स्वीकार गरियोस्

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १३ गते २०:५३

१२ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफूलाई न्याय दिन पार्टी नेतृत्वसामू माग गरेका छन् ।यसका लागि महाकाली सन्धिलाई लिएर आफूमाथि कारबाही गर्नु गल्ती थियो भनेर पार्टी भन्नुपर्ने उनको माग छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गौतमले भारतसँग महाकाली सन्धि गर्ने क्रममा आफूहरुले महाकाली नदीको मुहान लिम्पियाधुरा हो भनेर प्रष्ट पार्नुपर्छ भन्दा कारबाही गरेको र त्यही कारण पार्टी फुटेको स्मरण गरे । उनले भने, त्यसबेला मलाई कारबाही गरेर गल्ती गरेको भनेर पार्टी न्याय दिओस् ।’

गौतममाथि किन कारबाही भएको थियो ?

नेपाल र भारतबीच २९ माघ २०५२ मा महाकाली सन्धि भएको थियो । शारदा बाँध, टनकपुर बाँध र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई एकीकृत रुपमा विकास गर्ने गरी नयाँदिल्लीमा भएको त्यो सम्झौताले तत्कालीन एमालेले ठूलो तरंग ल्यायो ।

नेताहरु पक्ष विपक्षमा विभाजित भए । पार्टीका तत्कालीन महासचिव माधव नेपालसँगै नेता केपी ओली महाकाली सन्धिको पक्षमा भए । तर गौतमले सन्धिलाई ‘राष्ट्रघात’ को संज्ञा दिए । तत्कालीन एमालेको २९ औं केन्द्रीय कमिटी बैठकमा मतदान भयो र एक मतको अन्तरले सन्धिलाई अनुमोदन गर्ने निर्णय गरेको थियो । र४ असोज २०५३ मा एमालेको समर्थनमा संसदले पनि यो सन्धिलाई अनुमोदन गरेको थियो ।

तर पार्टीको हृवीप उल्लंघन गर्दै गौतम पक्षका केही नेताले मतदान गरेनन् । यही विवाद चर्किँदै जाँदा एमालेले गौतममाथि कारबाही गर्ने निर्णय गरेपछि ०५४ साल फागुन २१ गते एमाले फुट्यो । सीपी मैनाली, राधाकृष्ण मैनाली लगायतको ससमूहले नेकपा माले बनायो पार्टीको अध्यक्ष सहाना प्रधान भइन् भने गौतम महासचिव बनेका थिए ।

अरु नेताहरुले के भने ?

बैठकमा गौतमसहित २१ नेताले बोलेका थिए । सबैले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्नु ऐतिहासिक भएको बताएका छन् । साथै अब कूटनीतिक सम्वादमार्फत अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिएका छन् ।

तर मणि थापा र टोपबहादुर रायमाझीले भने अतिक्रमित भूमि नछाडे भारतसँग लड्नुपर्ने धारणा राखेको एक स्थायी कमिटी सदस्यले अनलाइाखबरलाई बताएका छन् ।

स्थायी कमिटीको अर्को बैठक १६ गते बस्नेछ । कसीमा विवादबारे समिक्षापछि कोभिड-१९ नियन्त्रण र रोकथाममा सरकारको भूमिकाबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । त्यसपछि अरु एजेण्डामा पनि गम्भीरतापूर्वक छलफल हुन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?