+
+

सिंघिया खोला किनारका वासिन्दाको दुःख – ‘आकाश कराउँदा निन्द्रा पर्दैन’

हरि अधिकारी हरि अधिकारी
२०७७ असार १४ गते ९:४०

१४ असार, विराटनगर । विराटनगरसँग सीमा जोडिएको कटहरी गाउँपालिका– १, सिंघिया खोला किनारको बस्तीको नाम हो, टाइगर टोल । जनमजदुरी गरेर चलेको यो टोल सिंघिया खोलासँग सधैँ तर्सन्छ ।

तीन वर्ष अघिको बाढीमा मुस्किलले ज्यान जोगाएका टोलबासी त्यसयता आकाश कराउँदा राति सुत्न सक्दैनन् । ‘परार (तीन वर्ष अघि) लगाएको लुगा बाहेक केही जोगिएन’, बिगतका दुःख सम्झँदै स्थानीय रिना तामाङ भन्छिन्, ‘त्यसपछि खोला बढ्यो कि बसाईँ सर्न थाल्छौं ।’

उनी आफ्नो जग्गा नभएका कारण वर्षेनि डुब्ने ठाउँमा बस्नु परेको बताउँछिन् । ‘नम्बरी जग्गा किनेर घर बनाउने औकात छैन’, उनले सुनाइन्, ‘यहाँ बस्दा बाढीको जोखिम हुन्छ ।’

तीन दिनयता परेको झरिपछि सिंघिया खोलामा बाढी आएको छ । खोला बढेपछि उनले घरका सामान अग्लो डाडामा त्रिपाल टाँगेर राखेकी छन् ।

‘आधी सामान डाँडामा लगिसक्यौं’, उनी भन्छिन्, ‘जेठसम्म ढुक्क हुन्छ, असार लागेपछि बाढीको चिन्ता थपिन्छ ।’

टाइगर टोलमा कम्तिमा ६० परिवारको बसोबास छ । वर्षा सुरु भएसँगै सबैले खोलाले नभेट्ने अग्लो स्थानमा पाल टाँगेका छन् ।

‘हिजोको पानीले सिंघिया खोलामा बाढी आयो’, स्थानीय वृद्ध सखा मुखिया भन्छन्, ‘ज्यान जोगाउन डाँडामा जानै पर्छ ।’ घरको सानामा डाडामा लैजान स्थानीयले रिक्सा ठेलाको प्रयोग गरेका छन् ।

त्रिपाल पनि फाट्यो

२०७४ सालमा आएको बाढीले विराटनगरको मुख्य बजारबाहेक अन्य क्षेत्र डुबानमा प¥यो । डुबानबाट विस्थापित भएका टाइगर टोलका स्थानीयले राहतमा त्रिपाल पाएका थिए ।

तीन वटा झरी एउटै त्रिपालले काटेका स्थानीय राहतको त्रिपाल च्यातिएका कारण बिस्थापित भए कसरी बस्ने भन्ने चिन्तामा छन् । ‘राहतमा पाएको त्रिपाल पनि च्यातियो’, स्थानीय वृद्धा धनसरिया पासवानले भनिन्, ‘ठूलो पानी परे गाह्रो हुन्छ ।’

उच्च स्थानमा सर्न भनेका छौंः वडाध्यक्ष

कटहरी गाउँपालिका १ का अध्यक्ष कपुरलाल माझी खोला किनारमा बसेका सुकुम्बासीहरुलाई उच्च स्थानमा सर्न आग्रह गरेको बताउँछन् ।

बाढीको जोखिम बढेपछि खोला किनारको टाइगर टोल र मुस्लिम बस्तीलाई सुरक्षित स्थानमा सर्न भनेको उनले बताए ।

‘खोलाको दुई सय मिटर भित्र बस्न हुँदैन’, उनले भने, ‘सुकुम्बासी बस्ती दुई सय मिटरभित्र नै पर्छ ।’ बाढीको विपत सुरु हुनै लाग्दा गाउँपालिकासँग राहत पनि पर्याप्त नरहेको उनले बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?